तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

मालीमा हिंसात्मक घटनामा १६ सैनिकको मृत्यु

By खबरहब

March 23, 2022

काठमाडौं- अफ्रिकी मुलुक मालीमा भएका छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको छ । पछिल्ला केही वर्षयता हिंसात्मक आक्रमणको चपेटामा पर्दै आएको मालीमा भएका बेग्लाबेग्लै घटनामा १६ सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हिंसात्मक घटनामा अरु १८ जना घाइते भएको बताइएको छ । आक्रमणपछि गरिएको जवाफी कारवाहीका क्रममा ३७ विद्रोही लडाकु पनि मारिएका र उनीहरूबाट ठूलो परिमाणमा हतियारहरू जफत गरिएको मालीको सेनाले जानकारी दिएको छ ।

आक्रमणमा आतंकवादी संगठन इस्लामिक स्टेटको हात रहेको बताइएको छ । दुई करोड १० लाख जनता भएको गरिब राष्ट्र मालीमा सन् २०१२ मा शुरु भएको तुआरेग विद्रोह र इस्लामिक अतिवादीको हिंसाका कारण दशौं हजार मानिसहरुको ज्यान गइसकेको छ भने अरु धेरै घाइते भएका छन् ।

त्यसयता आतंकवादी आक्रमणहरु छिमेकी मुलुकहरु बुर्किना फासो, मौरिटेनिया, निजेरजस्ता मुलुकमा समेत फैलिएको छ । हिंसा अन्त्यका लागि मालीका पूर्व उपनिवेशकर्ता मुलुक फ्रान्सले त्यहाँ सन् २०१३ मा अपरेशन सर्भल नामक सैनिक कारवाही अघि बढाएको थियो ।

सन् २०२० मा सत्ता कब्जा गरेको मालीको सत्तारूढ सैन्य प्रशासनले जिहादी समूहसँग निरन्तर लड्दै आएको छ ।