समाचार

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)

By खबरहब

March 23, 2022

अडियो सुन्नुहोस्ः

५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश भएन सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारी नियुक्ति बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले अध्यादेश ल्याएपछि बसेको संवैधानिक परिषदको बैठकको सिफारिसबाट नियुक्त संवैधानिक पदाधिकारीको पद कायम रहने भएको छ ।

५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, र ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद लगायतका निकायमा नियुक्तिको आधार र कारण पेश गर्न आदेश दिएको हो । तत्कालीन केपी ओली सरकारले विभिन्न आयोगका प्रमुख तथ पदाधिकारी नियुक्त गरेको थियो । उनीहरूले संसदीय सुनुवाइविनै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्ति पाएका थिए । सो नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।

विद्यार्थी संघ र तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्षहरू नियुक्त नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्षहरू नियुक्त गरेका छन् । देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलमा पर्वतका विद्वान गुरुङ नियुक्त गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत जानकारी दिए ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने प्रावधान छ ।

एमालेको केन्द्रीय कमिटी बैठकः ओलीको राजनीतिक प्रतिवेदन पेश प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपीशर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आज काठमाडौँमा बसेको केन्द्रीय कमिटीको पहिलो दिन अध्यक्ष ओलीले अहिलेको अवस्थामा पार्टीको दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन पेश गरेका एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

अध्यक्ष ओलीको प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरुरी रहेको उल्लेख गरिएको छ । त्यस्तै ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरूलाई एक तह मुनिको भूगोलमा खटिन निर्देशन पनि दिए ।

आगामी तिनै तहको निर्वाचनमा ५ दलबीच गठबन्धन हुने नेताहरूको दाबी नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने दाबी गरेका छन् । रिपोटर्स क्लबले आज काठमाडौँमा गरेको साक्षात्कारमा उनले गठबन्धन रहर नभएर बाध्यता भएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन जारी रहने बताए । काँग्रेसका नेता डा. रणबहादुर रावलले अहिलेपनि पाँच दलीय गठबन्धनको आवश्यकत्ता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए ।

साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले अहिले पनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वभाविक नै भएको भनाई राखे । त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने बताए ।

उद्यमशीलताको प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमशीलताको प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज काठमाडौँमा ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनको उद्घाटन गर्दै मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै यसको प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताए ।

उहाँले उद्यमशीलताको विकास, स्टार्टअप व्यवसायलाई नेपाल सरकारले प्रोत्साहित गर्ने नीति लिएको पनि बताए । सरकारले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन, वैदेशिक लगानी भित्रयाउन लगानीमैत्री नीति लिएको र सेवा प्रवाहलाई सरलीकृत गर्दै प्रक्रियागत झन्झटलाई हटाइएको उनले बताए ।

शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्छः शिक्षामन्त्री पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्ने बताएका छन् । आज काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनको शिक्षा मन्दिर उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि नीजि क्षेत्रलाई पनि समावेश गरेर अघि बढ्ने र नीजि क्षेत्रको लगानीलाई सुरक्षा गर्ने बताए ।

उनले शिक्षा क्षेत्रको सुधारका लागि नीजि क्षेत्रले राखेका विषयहरूलाई राज्य गम्भीर रहेको उल्लेख गरे । मन्त्री पौडेलले शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जिकिर गरे ।

त्रिविमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्छः काँग्रेस महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्ने बताएका छन् । आज कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको सम्मेलनमा थापाले विश्वविद्यालयलाई घाउ लाग्दै गर्दा सबैको मन दुखेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।

उनले विश्वविद्यालयमा देखिएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीदेखि सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुपर्ने पनि बताए । थापाले विश्वविद्यालय राजनीतिक दलसँग आबद्ध भएका व्यक्तिले बिगारेको भन्ने आरोपलाई असत्य सावित गर्न त्रिवि सुधार गर्नुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्री आले र बलिउड अभिनेता खानबीच भिडियो संवाद संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो संवाद भएको छ । ओडिसी इन्टरटेन्मेन्टले बैशाख ३ गते आयोजना गरेको एक सांस्कृतिक कार्यक्रमका लागि काठमाडौँ आउने तयारीमा रहेका सलमानसँग मन्त्री आलेले आज भिडियो संवाद गरेका हुन् ।

बैशाख ३ गते आयोजना हुने कार्यक्रमको लागि सलमानलाई औपचारिक रूपमा निमन्त्रणा दिइएको छ । मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तो दिँदै समय अनुकुल भए सगरमाथाको हवाइ सफर गराउने प्रस्ताव पनि राखेका छन् । अभिनेता सलमान पनि सकारात्मक देखिएको जनाइएको छ ।

आयल निगमद्वारा इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आईओसीलाई भुक्तान नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गरेको छ । आज आईओसीलाईे दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको निगमका निमित्त नायब कार्यकारी एवं अर्थ प्रशासन प्रमुख नागेन्द्र साहले जानकारी दिए ।

गत मार्च ८ मा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो । यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको निगमले जनाएको छ । निगम अझै मासिक १० अर्ब घाटामा रहेकाले आउँदो अप्रिल ८ मा भुक्तानी गर्न थप समस्या हुने साहको भनाई छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ८ सय ५५ पिसिआर परिक्षणका क्रममा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप २ सय ६९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ४ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सेयरबजारमा आज दोहोरो अंकको गिरावट सेयरबजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २० दशमलव ३४ अंकले घटेर २ हजार ६ सय ३० दशमलव ३६ बिन्दुमा पुगेको हो । आज कुल ३ करोड ९८ लाख ५ हजार ५ सय ७४ कित्ता शेयर २ अर्ब ४६ करोड ३५ लाख २ हजार ५ सय ४७ रुपैँयामा कारोबार भएको छ ।

आज राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढेको छ । बुद्धभूमि हाइड्रोको मूल्य ३.५ प्रतिशत घटेको छ ।यस्तै कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक, जीवन विकास लघुवित्त, अरुणभ्याली हाइड्रो, टेलिकम र अपी पावर क्रमशः अगाडि रहेको छ ।

बागमती प्रदेशमा बर्डफ्लू देखिएका स्थानमा ५८ हजार २ सय ६१ पन्छी नष्ट बागमती प्रदेशमा बर्डफ्लू देखिएका स्थानमा ५८ हजार २ सय ६१ पन्छी नष्ट गरिएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै प्रदेशका विभिन्न जिल्लामा बर्डफ्लु देखिएको ठाउँका ५८ हजार २ सय ६१ पक्षी नष्ट गरेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेशका ६ वटा जिल्लामा बर्डफ्लू फैलिइसकेको छ। बर्डफ्लु देखिएका स्थानका २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ किलो दाना नष्ट गरिएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लू देखिएको छ ।

काठमाडौँस्थित चोभारमा सुमोको ठक्करबाट दुई जनाको मृत्यु काठमाडौँको चोभारमा सुमोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका ६ का समिर गिरी र काठमाडौँ महानगरपालिका १४ का नवीन्द्र तिमल्सिना रहेका छन् ।

आज हेटौंडाबाट बल्खुतर्फ आइरहेको ना१ज ६३५४ नम्बरको गाडीले बा९२प २३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने सुमो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

यातायात कार्यालयहरूबाट दिने सबै सेवा भोलि विहान ६ बजेसम्मका लागि बन्द यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा भोलि विहान ६ बजे सम्मका लागि बन्द गर्ने भएको छ ।

विभागले आज दोस्रोपटक जारी गरेको सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले आज अपरान्ह ५ बजेदेखि भोलि विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने जानकारी दिएको हो । यसअघि जारी गरिएको सूचनामा अनिश्चतकालका लागि यातायात कार्यालयहरूबाट दिने सबै बन्द गर्ने निर्णय गरिएको थियो ।

जनकपुर–पोखरा नियमित हवाई उडान हुने जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो । यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिबार मात्रै उडान भर्दै आएको थियो ।

नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले जनकपुरधाम–पोखरा हवाई सेवा अब दैनिक चल्ने जानकारी दिए । नियमित रुपमा एउटा उडान भर्ने छ । यसअघि गत फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा साताको तीन दिन चल्ने गरी सुरु भएको थियो ।

मकवानपुर प्रहरीद्वारा ४२ किलो गाँजासहित ४ जना पक्राउ मकवानपुरमा प्रहरीले ४२ किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना. ६ ख ४४०९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा चालक बस्ने पछाडी गाँजा बरामद गरिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ बस्ने ३१ वर्षीय टिपर चालक ईश्वर पाठक, सहचालक २२ वर्षीय सागर थिङ, रामग्राम नगरपालिका १२ बस्ने ६० वर्षीय राजेशप्रसाद रौनियार र ४० वर्षीया रेश्मा भर रहेका छन् ।