तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

सन् २०१४ मा गद्दी त्यागेका स्पेनका ‘कलंकित’ पूर्व राजाविरूद्ध प्रदर्शन

By खबरहब

May 23, 2022

काठमाडौं- संयुक्त अरब इमिरेट्स युएईमा करिब दुई वर्ष स्वनिर्वासन बसेपछि स्वदेश फर्किएका स्पेनका पूर्वराजा हुआँ कार्लोसविरुद्ध राजधानी म्याड्रिडमा सयौँ प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् ।

‘न्याय’ र ‘बोर्बोँ जेलमा’ लेखिएको प्लेकार्ड बोकेका प्रदर्शनकारीले स्पेनको राजधानी म्याड्रिडस्थित शाही दरबारनजिक भेला भएको युरोपेली समाचार सञ्जाल द लोकलको स्पेनी संस्करणले जनाएको छ । एक सरकारी प्रवक्ताले प्रदर्शनकारीको संख्या तीन सय रहेको बताए । 

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा मार्चमा अनुसन्धान रोकिएपछि सन् २०२० को अगस्टपछि पहिलो पटक पूर्वराजा कार्लोस स्वदेश फर्किएका हुन् । 

सन् १९७५ मा  तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको लोकतन्त्रमा उनले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो । तर उनको अपारदर्शीताले ८४ वर्षीय पूर्वराजाको प्रतिष्ठालाई कलंकित बनाएको बेलायती अखबार डेली मेलले जनाएको छ ।

पूर्वराजा संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबी फर्कनुअघि सोमबार राजधानी म्याड्रिडमा आफ्ना छोरा राजा फेलिप छैठौंलाई भेट्नेछन् ।

भ्रमणका क्रममा हालका राजा फिलिपको आधिकारिक निवास जार्जुएला दरबारमा बस्ने पूर्वराजा कार्लोसको निर्णयलाई सरकारले विरोध गरेको छ । 

समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले अझै पनि सन् २०१४ मा राजगद्दी त्यागेका पूर्वराजा कार्लोसबाट ‘स्पष्टीकरण’ को अपेक्षा गरेको बताइएको छ ।