काठमाडौँ– माग्ने बुढाको उपनामले परिचित केदारप्रसाद घिमिरेले ‘कमेडी हब’ नामक शो ल्याउने भएका छन् ।
उनको निर्देशन रहने स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविता समेटिने जनाइएको छ ।
शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेको प्रस्तुति दर्शकले हेर्न पाउनेछन् ।
कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारहरु दीपकराज गिरी, मनोज गजुरेल, दीपाश्री निरौला, जीतु नेपाल लगायतले शोको सफलताको कामना दिए ।