प्रवास

एनआरएनए साउदीद्वारा ५ नेपालीको उद्धार 

By खबरहब

June 23, 2022

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा साउदीमा अलपत्र ५ जना नेपालीको उद्धार गरिएको छ ।

दोलखाका अर्जुन राया, कैलालीका कुसुराम चौधरी, कपिलवस्तुका प्रेम थापा, रौतहटका फारुक देवान र झापा देबीप्रसाद ओलीलाई आरसिसी अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको पहलमा नेपाल फर्काइएको हो ।

कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका पिडितहरु अल कासिमका लागि दूतावास प्रतिनिधि विशाल श्रेष्ठको सम्पर्कमा आएका थिए । उनकै विशेष पहलमा नेपाल फर्कन सफल भएको एनआरएनए साउदीले जनाएको छ ।

जुन १४ तारिखका दिन दूतावास प्रतिनिधि श्रेष्ठको पहलमा एक्जिट भिसाका लागि आवश्यक पर्ने कागाजात दूतावासमा बुझाइएको थियो । उनीहरु त्यसको दुई दिन अघि उनको सम्पर्कमा आएका थिए।

आइतबार एक्जिट भिसा लागेको र पीडितहरु बुधबारको उडानबाट नेपाल फर्किन सफल भएको एनआरएनएले जनाएको छ ।

केहिदिन अघिमात्र कम्पनी छाडेर भागेको कारण अलपत्र परी स्वदेश फर्कन नसकेका बर्दियाका निरज पौडेललाई पनि आरसिसी अल-कासिमको समन्वय र दूतावासको पहलमा स्वदेश फर्काइएको एनआरएनए साउदीका सचिव ध्रुब कटुवालले जानकारी दिएका छन्।