मनोरञ्जन

बेलायत उड्दै ५ महिला फिल्ममेकर

By खबरहब

June 23, 2022

काठमाडौँ- प्रशंसा केसी, प्रशुना डंगोल ,आश्रुती त्रिपाठी, पिंकी श्रीश राना र स्मृति बस्नेत आज बेलायत उड्दै छन् । आ-आफ्ना कथा लिएर उनीहरु बिहीबार बेलायत उड्न लागेका हुन् ।५ जना युवतीको यो पहिलो समूह हो जो बेलायतको प्रतिष्ठित फिल्म फेस्टिभल ‘सेफिल्ड  डकफेस्ट’मा नेपाललाई प्रतिनिधित्व गरेर जाँदै छन् ।

 मंगलबार चलचित्र विकास बोर्डको प्रेक्षालयमा उनीहरूले बेलायत जाने अवसर र आफूले छानेका विषयबारे पत्रकारसँग अनुभव साझा गरे । ५ जना युवतीलाई बेलायतको प्रतिष्ठित वृत्तचित्र महोत्सवमा जाने चाँजोपाँजो मिलाएका हुन् बेलायतको तास्कोभस्की फिल्मस्, ब्रिटिस काउन्सिलको जेन्डर फिल्म कार्यक्रम, पामे चलचित्र तथा संगीत महोत्सव र चलचित्र विकास बोर्ड ।

सन् २०२२ देखि नेपाली चलचित्र उद्योगमा लैङ्गिक समावेशीकरणका लागि काम गरिरहेका माथि उल्लेखित सम्पूर्ण संस्थाले महिलामा व्यावसायिक फिल्म निर्माणको सीप विकास गर्नका लागि महिला निर्माता र निर्देशकहरूको आवेदन माग गरेका थिए ।

आवेदनबाट महिला फिल्मकर्मीलाई विभिन्न चरणको परीक्षाबाट छनोट गरी १० जनामा सीमित गरिएको थियो । यिनै १० जनालाई फेब्रुअरीदेखि मेसम्म भर्चुअल सत्रमार्फत फिल्मको कथा वाचनका अनेक प्रशिक्षणहरू दिइएको थियो । नेपाली र विदेशी फिल्ममेकरबाट विभिन्न चरणमा पाएको ज्ञानलाई सदुपयोग गर्न सक्ने १० जनाबाट ५ जनालाई छानेर थप प्रशिक्षण दिइएको थियो । यसरी ६ महिना हाराहारीको समयमा विभिन्न चरणमा पाएको ज्ञान लिएर ५ जना महिला बेलायत उड्न लागेका हुन् ।

‘सेफिल्ड डकफेस्ट’आज बिहीबार सुरु भएर आउँदो मंगलबार सकिने कार्यतालिका छ । यही ५ दिनमा नेपाललाई प्रतिनिधित्व गरेर जान लागेका युवतीले गार्जियन, न्युयोर्क टाइम्सदेखि अल जजिरासम्मका वृत्तचित्र निर्मातासँग भेटघाट गरेर आफ्नो कथा सुनाउने कार्यतालिका छ ।

 ‘स्लेट फन्डिङ’ को योजनासहित बेलायत उड्न लागेकी स्मृति बस्नेत भन्छिन्, ‘आफ्ना कथामा लगानीकर्ता खोज्ने त भइहाल्यो तर मेरो योजना उताका निर्मातालाई नेपाली फिल्ममा सदा लगानी गर्न स्थायी फन्ड जुटाउने पनि छ । ‘स्लेट फन्डिङ’ लाई लागू गर्न सकियो भने ५ वटा नेपालले सयौँ कथा विश्व मञ्चमा पुर्‍याउन सक्छ ।’

५ जनामध्ये स्मृति मात्र विनाकथा जान लागेकी हुन् । उनले आफ्नो ध्यान दीर्घकालीन लगानी खोज्ने रहेको बताइन् । ६ महिना लामो प्रशिक्षणका चरणमा सहभागीलाई सकभर आफ्नै कथामा फिल्म अभिप्रेरित गरिएको थियो । प्रशुना, प्रशंसा र पिंकी श्री रानाले यसरी आफैँले भोगेका कथालाई भविष्यमा  फिल्म निर्माणका लागि सुहाउने गरी विकसित गरिरहेका छन् ।

यसैगरी विकास बोर्डका आर्काइभ तथा सूचना अधिकृत चिरञ्जीवी गुरागाईँले बोर्डले नयाँ पुस्ताका फिल्मकर्मीसँग काम गर्न चाहेको र यस्ता कार्यक्रमले बोर्डको त्यो अपेक्षा पूरा भइरहेको बताएका थिए ।