फाइल फोटो

देश/प्रदेश

चालु आर्थिक वर्षमा एक हजार मेट्रिक टन मल वितरण

By खबरहब

June 23, 2022

दमौली– कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए । 

 कार्यालयमा हाल ५२.५५ मेट्रिक टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया, डिएपी र कृषि चुन मल अभाव रहेको शर्माले बताए । चालु आर्थिक वर्षमा ६२४.४ मेट्रिक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ । ३२४.३५ मेट्रिक टन डिएपी र पाँच मेट्रिक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ । 

कार्यालयमा सुरुमा १४१.४ मेट्रिक टक युरिया रहेकामा पछि ४८३ मेट्रिक टन प्राप्त भएको थियो । त्यस्तै ११७.३५ मेट्रिक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ । धान रोपाइँ सुरु भइसक्दा युरिया, डिएपी मल अभाव हुँदा किसान मर्कामा परेका छन् । अधिकांश ठाउँका किसानले मलबिना नै रोपाइँ सुरु गरिसकेका छन् । 

कार्यालयले जिल्लाका दशवटै स्थानीय तहमा रहेका डिलरमार्फत मल बिक्री वितरण गर्दै आएको छ । आँबुखैरेनीबाट ५०.५, घिरिङबाट १४.५०, देवघाटबाट ७.२५, भानुबाट २१५.४५, भिमादबाट २०.७५, म्याग्देबाट १५.७, बन्दीपुरबाट २४.५, व्यासबाट २१४.७५ र शुक्लागण्डकीबाट १२२.७७५ मेट्रिक टन मल बिक्री वितरण भएको छ । आँबुखैरेनीस्थित चार वटा डिलरबाट ४३.२५ मेट्रिक टन युरिया, पाँच मेट्रिक टन डिएपी र २.२५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । घिरिङस्थित चार वटा डिलरबाट ११.२५ मेट्रिक टन युरिया, २.८५ मेट्रिक टन डिएपी र ०.४ मेट्रिक टन पोटास मल वितरण गरिएको छ ।

 देवघाटस्थित तीन वटा डिलरबाट ७.२५ मेट्रिक टन युरिया मल बिक्री वितरण भएको  । भानुस्थित १८ वटा डिलरबाट १४४.८ मेट्रिक टन युरिया, ६०.४ मेट्रिक टन डिएपी, ७.०५ मेट्रिक टन पोटास र ३.२ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ । भीमादस्थित चार वटा डिलरबाट १२.८५ मेट्रिक टन युरिया, ६.२५ मेट्रिक टन डिएपी, ७.०५ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । म्याग्देस्थित तीन वटा डिलरबाट ९ मेट्रिक टन युरिया, ६ मेट्रिक टन डिएपी, ०.७ मेट्रिक टन पोटास, बन्दीपुरस्थित छ वटा डिलरबाट १३.२५ मेट्रिक टन युरिया, ९.२५ मेट्रिक टन डिएपी र २ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । 

व्यासस्थित २० वटा डिलरबाट १३९.४५ मेट्रिक टन युरिया, ६३.२ मेट्रिक टन युरिया र १२.१ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । शुक्लागण्डकीस्थित १२ वटा डिलरबाट ५३.२ मेट्रिक टन युरिया, ५६.४ मेट्रिक टन डिएपी, १३.१ मेट्रिक टन पोटास र ०.०७५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ ।

जिल्लाबाहिर पनि २५९.७७५ मेट्रिक टन वितरण

कार्यालयले तनहुँका अतिरिक्त लमजुङमा पनि मल बिक्री वितरण गर्दै आएको छ । लमजुङका ११२ डिलरबाट २५९.७७५ मेट्रिक टन मल वितरण गरिएको कार्यालयले जनाएको छ । लमजुङको मध्यनेपाल नगरपालिकाबाट सात वटा डिलरबाट ४३ मेट्रिक टन युरिया, १६.५ मेट्रिक टन डिएपी र २.७५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । मर्स्याङ्दी गाउँपालिकास्थित दुई वटा डिलरबाट ३.५ मेट्रिक टन युरिया, ०.७५ मेट्रिक टन डिएपी, ०.५ मेट्रिक टन पोटास र ०.२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ । 

राइनास नगरपालिकास्थित आठ वटा डिलरबाट ३८.२५ मेट्रिक टन युरिया, ६.५ मेट्रिक टन डिएपी, १.१ मेट्रिक टन पोटास, बेँसीसहर नगरपालिकास्थित छ वटा डिलरबाट ३३ मेट्रिक टन युरिया, २.८५ मेट्रिक टन डिएपी, २ मेट्रिक टन पोटास र ०.६२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकास्थित १२ वटा डिलरबाट ७२.३५ मेट्रिक टन युरिया, ३३.९ मेट्रिक टन डिएपी, १.३५ मेट्रिक टन पोटास र ०.६ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ ।

एक सय एक परिवारलाई लालपुर्जा

नापी कार्यालय तनहुँले ऋषिङ–४ भीरकोटका एक सय एक परिवारलाई गाउँ ब्लक अन्तर्गत लालपुर्जा वितरण गरेको छ । साविकको भीरकोट गाउँ विकास समिति अन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो ।

गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणलाई पुर्जा वितरण गरेका थिए । पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैँकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्शानाप गरिएको थियो ।

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्शा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो ।

कार्यालयले यसअघि तनहुँको आँबुखैरेनी, बन्दीपुर गाउँपालिकामा पनि गाउँ ब्लक अन्तर्गतका पुर्जा वितरण गरिसकेको छ । तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ ।–-रासस