बस दुर्घटनामा परी एक जनाको मृत्यु, ११ जना घाइते

By खबरहब

June 23, 2022

सप्तरी– सप्तरीमा बिहीबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना ५ ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ६० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको काफ्लेको भनाइ छ।

घाइते ११ जनामध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।यात्रुबाहक बस अनियन्त्रित भइ  सडकभन्दा २० फिट तल खसेको  प्रहरीको भनाइ छ ।