खेलकुद

युइएफए नेसन्स लिग : चार खेलमा को विजयी ?

By खबरहब

September 23, 2022

काठमाडौँ – युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम, नेदरल्यान्ड, फ्रान्स र क्रोएसियाले जित निकालेका छन्।

बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्‍यो। बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे। वेल्सका किफर मुरले एक गोल गरे। जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। पराजित वेल्स १ अंक जोडेर पुछारमा छ।

अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० ले पराजित गर्दा फ्रान्सले अष्ट्रियालाई २-० गोल अन्तरले हराउँदै पहिलो जित निकाल्यो।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र स्टेभेन बर्गवाइनले एक एक गोल गरे। जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ। पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमाछ।

फ्रान्सको जितमा केलियन एमबाप्पे र ओलिभर जेरुडले एक-एक गोल गरेका थिए। यस जितसँगै फ्रान्सले ५ खेलमा ५ अंक जोडेको छ। लिग ए समूह १ को फ्रान्स समूहको तेस्रो स्थानमा रहेको छ। अष्ट्रिया ४ अंक जोडेर पुछारमा रहेको छ।

त्यसैगरी क्रोएसियाले डेनमार्कलाई २-१ गोल अन्तरले हरायो। ४९औं मिनेटमा बोर्ना सोसाले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए। ७७औं मिनेटमा क्रिष्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ७९ औं मिनेटमा लोभ्रो माजेरले गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए।

यस जितसँगै क्रोएसिया शीर्ष स्थानमा उक्लिएको छ। लिग ए समूह १ को क्रोएसियाले ५ खेलमा १० अंक जोडेको छ। डेनमार्क ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।