फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अतिवादी लडाकुसँगको भिडन्तमा पाकिस्तानी सैनिकको मृत्यु

By खबरहब

September 23, 2022

काठमाडौँ- पाकिस्तानमा अतिवादी लडाकुसँगको भिडन्तमा परी एक सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लाको द्वातोई क्षेत्रमा अतिवादीसँगको भिडन्तमा एकजना सैनिक शहीद भएको पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) ले जनाएको छ ।

घटनामा मारिनेमा बलुचिस्तानको जाफेरावाद क्षेत्रका ३४ वर्षे नजार मोहम्मद रहेको पाकिस्तानी सेनाले जनाएको छ ।

आईएसपीरका अनुसार अतिवादी लडाकुले अफगान सीमाक्षेत्रबाट पाकिस्तानी सैनिकमाथि गोली प्रहार गरेका थिए । घटनापछि पाकिस्तानी सेनाले लडाकुविरुद्ध कारवाही गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तानी सेनाको कारवाहीमा परी लडाकुतर्फ ठूलो क्षति भएको पाकिस्तानी सेनाको दाबी छ । पाकिस्तान सरकारले घटनाको निन्दा गर्दै अफगान सरकारले आगामी दिनहरुमा आफ्नो भूमिलाई आतंकवादी गतिविधिका लागि प्रयोग गर्न दिन नहुने जनाएको छ ।