अन्तर्वार्ता

मोटोपन र भार पर्ने कामले घुँडा खिइने गर्छ

By विना न्यौपाने

October 23, 2022

पछिल्लो समय मानिसहरुमा घुँडा दुख्ने समस्या बढ्दो छ । उमेर बढेसँगै काम र जीवनशैली नमिल्दा घुँडा दुख्ने र खिइने समस्या बढिरहेको हो । यसले विस्तारै मानिसहरुमा गम्भीर समस्या पनि निम्त्याइरहेको छ । घुँडा दुख्ने समस्या, उपचार र दीर्घकालीन असरबारेमा मेडिसिटी अस्पतालमा कार्यरत अर्थापेडिक सर्जन डा. दमनकुमार झासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

घुँडा दुख्ने समस्यालाई हामीले कसरी बुझ्ने ? यो उमेर अनुसार फरक फरक हुन्छ । युवा अवस्थामा चोट पटक लागेर हुन्छ । उमेर बढ्दै जाँदा हड्डी खिइँदै गएर दुख्छ ।

यो काम गर्दै जाँदा खिइँदै जाने हो ? उमेर बढ्दै जाँदा शरीरको हरेक अंग खिइँदै जाने हुन्छ । त्यसमा कुन जोर्नीले कसरी काम गरेको छ भन्ने कुरा हो । हातको कुरामा हातले तौल धेरै थेग्दैन । त्यसैले छिटो खिइँदैन, तर तल्लो भागको जोर्नीहरू जस्तो हिपको, निको यिनीहरू उमेर अनुसारले खिइँदै जान्छ । र, घुँडामा धेरै खिइने गर्दछ ।

यो महिला र पुरुषको मा बढी हुन्छ ? महिलाहरूमा यो पुरुषको तुलनामा बढी हुने गरेको छ । हर्मनको कारणले पनि यस्तो हुन्छ । तर पुरुषमा पनि हुन्छ ।

यो समस्यामा कुन अवस्थासम्म घरमा नै बस्ने र कुन अवस्थामा अस्पतालमा नै जाने त ? यो समस्या प्रायः सबैको घरमा कसै न कसैलाई हुन्छ । कसैमा लक्षण देखिन्छ, कसैमा देखिँदैन, तर यो सबैमा हुन्छ । कसैलाई धेरै दुख्ला कसैलाई थोरै । त्यसैले जाँच गर्नु पर्दछ । मात्र के कारणले भएको भन्ने थाहा हुन्छ । घुँडाको वरिपरि लिगामेन्ट, मिनिस्कस हुन्छ । यी कारणले पनि घुँडा दुखेको हुन्छ, त्यसैले पहिला घुँडा खिएर नै दुखेको हो कि हैन थाहा पाउनु पर्याे । यदि घुँडा खिएर नै दुखेको हो । बिरामी चाडै सुरुवातमा नै अस्पतालमा आउनु भयो भने केही दिनलाई औषधि खाएर फिँजियो थेरापी गरेर निको पार्न सकिन्छ । ५० वर्षको मान्छेमा पनि कसैलाई घुँडा खिइने समस्या हुन्छ । तर, कसैमा हुँदैन । किनभने आफ्नो जीवनशैलीले पनि फरक पर्दछ । कसैले दिन भरी उभिएर काम गर्नु पर्ने वा घुँडामा लोड पर्ने जे काम गरे पनि घुँडा खिइने समस्या हुन्छ ।

कस्तो काम गर्दा वा कस्तो लापरवाही गर्दा घुँडा बढी खिइने गर्छ ? मोटोपनले पनि चाँडो घुँडा खिइन्छ । कोही व्यक्तिको ६० केजी तौल छ भने त्यो घुँडाले दैनिक ६० केजी तौल बोकेको हुन्छ । मोटोपनको लागि ४० कट्नु नै पर्दैन त्यसैले मोटोपन नियन्त्रण गर्नु पर्दछ । दैनिक रुपमा व्यायाम गर्नु पर्दछ, यदि घुँडा खिएर डाइग्नोसिस् भइसक्यो भने फिँजियो थेरापी गर्नु पर्याे । धेरै उकालो ओरालो गर्ने काम कम गर्ने वा धेरै घुँडालाई लोड हुने काम गर्नु भएन ।

कतिपय मान्छेहरूको काम गर्नै पर्ने हुन्छ यस्तो अवस्थामा के गर्ने ? काम नै नगर्ने भन्ने हुँदैन तर घुँडालाई लोड काम जति सक्दो चाँडो कम गर्ने, धेरै मान्छेहरू फिँजियो थेरापी गर्ने र निको भए पनि व्यायाम गर्न नै छोड्नु हुन्छ । पछि फेरी बल्झिन्छ र फिँजियो थेरापी दैनिक गरियो भने धेरै केशहरू अप्रेसन नगरी उपचार गर्न सकिन्छ ।

फिँजियो थेरापी गर्न थालेपछि जीवनभर गर्नु पर्ने हो ? गर्दा राम्रो हुन्छ । किनभने यो खिइने भनेको बोनमा नै परिवर्तन आउने हो । त्यसैले एक महिना दुई महिना फिँजियो थेरापी गर्याे भने यो हड्डीमा भएको समस्या त्यहाँबाट बाहिर गएको हैन त्यही छ दुखाई मात्र कम हुने हो । यो सुरुमा ३ पटक गर्नु पर्दछ । पछि घटाउँदै जाँदा हुन्छ । यो एक पटक सिक्ने र सधैँ गर्ने हो यो घरमा जहाँ पनि गर्न सकिन्छ । सजिलो छ । सबै भन्दा राम्रो व्यायाम भनेको पौडिनु हो । तर यो दैनिक रूपमा सम्भव हुँदैन । साइलिङ गर्दा पनि धेरै फाइदा गर्दछ । बाटेमा साइकल चलाउने गर्नुपर्छ ।

घुँडा खिएर वास्ता गरेन भने पछि कस्तो जोखिम आउन सक्छ ? घुँडा खिएकोदेखि सक्यो भने पछि गएर अप्रेसन नै गर्नु पर्दछ । अप्रेसन गर्ने तर बिरामीले आफ्नो तौल मिलाउनु भएन मोटोपन घटाउनु भएन भने घुँडा अप्रेसन गरेर पनि कुनै फाइदा छैन । त्यसैले घुँडा जे काम गर्दा दुख्छ त्यो काम नगर्ने । अप्रेसन गरेर पनि फिँजियो थेरापी गर्नु पर्दछ । कहिले काँहि बिरामीले अप्रेसन गर्न मानेन भने डिपो मेडोल भन्ने इन्जेक्सन लगाउँछौँ । त्यसले दुखाई कम गर्नको लागि मात्र लगाउने हो । त्यसको कुनै घुँडा खिएको निको पार्ने हैन ।

कुन अवस्था सम्म औषधि र इन्जेक्सनले काम गर्दछ ? घुँडा खिइने समस्यालाई हामीले ४ स्टेजमा राख्छौँ । एउटा मा एक्स–रेमा खासै हड्डी खिएको देखिदैन तर सबै लक्षण जोर्नी खिएको देखिन्छ । अर्को, एक्स–रेमा अलिअलि खिएको हुन्छ र लक्ष्ण पनि अलिअलि देखिन्छ । त्यो स्टेजमा नै बिरामीले उपचार गरेर मोटोपन र तौलमा ध्यान दिनु हुन्छ भने सजिलै निको हुन्छ । तेस्रो र चौथो स्टेजमा मान्छे हिड्दा नै खुट्टा दुख्न थाल्यो भने अप्रेसन नै गर्नु पर्दछ ।

कुनै पनि समस्या नआओस् भनेर के-के कुरामा ध्यान दिने त ? आफ्नो जीवनशैलीमा सुधार गर्नु पर्दछ । आफ्नो शरीरले के भन्छ त्यही गर्नु पर्दछ कुनै काम गर्दा अप्ठ्यारो भयो भने त्यो काम छोड्नु पर्दछ ।  फिँजियो थेरापी गर्नु पछ। दैनिक रूपमा घुँडा दुख्यो भने ब्रेसहरु लगाउन सकिन्छ । यति गर्दा पनि भएन भने अप्रेसन गर्नु पर्दछ । अप्रेसन गर्ने बित्तिकै सबै काम गर्न सक्नु हुन्न, त्यसैले पहिला नै केयर गरौँ ।

राम्रोसँग केयर गर्याे भने अप्रेसन कतिसम्म जान सक्छ ? अप्रेसन गर्दा हामीले इम्प्लान राख्छौँ । त्यो इम्प्लान कम्पनी अनुसार फरक पर्न जान्छ । लगभग १५ देखि २० वर्ष जान्छ । त्यसैले जोर्नी फेर्नु भयो । भनेको कुरा फलो गरेन भने ५ वर्ष पनि नटिक्न सक्छ ।

यो जोर्नी नै फेर्नको लागि कति खर्च लाग्छ ? यसको उपचार अस्पतालको बेड चार्ज अनुसार फरक हुन्छ ।

घुँडाको समस्या भएको मानिसलाई के भन्न चाहनुहुन्छ ? घुँडाको समस्या हरेकमा हुन्छ । त्यसैले यो उमेर अनुसार फरक हुन्छ । त्यसैले यसलाई समयमा नै बचाउन फिजिकल थेरापी गर्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)