फाइल तस्वीर

अन्तर्राष्ट्रिय

बेलायती पूर्वप्रधानमन्त्रीको ‘कमब्याक’ ? छुट्टी छोट्याएर बोरिस जोनसन स्वदेश फर्किए

By खबरहब

October 23, 2022

काठमाडौँ- बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गरी शनिबार बेलायत आइपुगेका छन् ।

गत जुलाई ७ मा तत्कालिन जोनसन मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका र्थिए ।

जोनसनले अब प्रधानमन्त्रीको दौडमा भाग लिने इच्छा व्यक्त गर्दै आफू यसका लागि तयार रहेको बताएका छन् ।

जोनसनको मन्त्रिपरिषद्मा रहेका पूर्व अर्थमन्त्री ऋषि सुनकले पनि कन्जरभेटिभ पार्टीको नेतृत्व र बेलायती प्रधानमन्त्री पदका लागि १०० भन्दा बढी मनोनयन प्राप्त गरिसकेका छन् ।

प्रधानमन्त्री लिज ट्रसको राजीनामापछि सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र संकट उत्पन्न भएको छ । नयाँ पार्टी नेताका चयनका लागि १०० मनोनयनको थ्रेसहोल्ड राखिएको बताइएको छ । सुनकले यो थ्रेसहोल्ड पूरा गरिसकेका छन् ।

पछिल्लो नेतृत्वको प्रतिस्पर्धामा ट्रससँग पराजित भएका सुनकलाई बेलायतको प्रधानमन्त्रीको दौडमा प्रवेश गर्न कन्जरभेटिभ पार्टीका १०० सांसदको समर्थन प्राप्त भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायती प्रधानमन्त्री लिज ट्रसले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै कन्जरभेटिभ पार्टीभित्र नयाँ नयाँ घटनाक्रम विकास भइरहेका छन् । उनको राजीनामाले देशलाई राजनीतिक उथलपुथलमा फसाएको छ भने कन्जरभेटिभ नेताहरु स्थिर सरकारको खोजीमा रहेको जनाइएको छ । यता बेलायतको प्रमुख विपक्षी दल लेबर पार्टीले आम निर्वाचनको माग गरिरहेको छ ।

हाउस अफ कमन्समा कन्जरभेटिभ प्रतिनिधि पेनी मोर्डाउन्टले पनि प्रधानमन्त्री पदका लागि शुक्रबार आफ्नो दाबेदारी प्रस्तुत गरेकी थिइन् ।

“नयाँ सुरुवात, एकताबद्ध पार्टी र राष्ट्रिय हितमा नेतृत्व चाहने सहकर्मीहरूको समर्थनबाट म उत्साहित भएको छु,” मोर्डाउन्टले ट्वीटरमा लेखेकी छिन् । यद्यपि नयाँ प्रधानमन्त्री बन्न उनको समर्थन अनपेक्षित कम रहेको बताइएको छ ।

कन्जरभेटिभ सांसदहरूले सोमबार मतदान गर्ने अपेक्षा गरिएको छ । यसका लागि दुई उम्मेदवारहरूलाई कन्जरभेटिभ सदस्यहरुमाझ प्रस्तुत गरिनेछ । नतिजा २८ अक्टोबर घोषिणा हुनेछ ।

पदबाट राजीनामा दिएपछि ट्रस सबैभन्दा छोटो समय सेवा गर्ने बेलायती प्रधानमन्त्री बनेकी छिन् । उनले आफू निर्वाचित भएको जनादेश पूरा गर्न नसक्ने बताउँदै राजीनामा दिएकी हुन् ।

ट्रसले आगामी साताभित्र नयाँ नेतृत्व चयनका लागि आफूले राजीनामा दिने घोषणा गरेपछि पार्टी नेता चयन र प्रधानमन्त्रीको नेतृत्व चयनको प्रक्रिया सुरू भएको हो ।

लिज ट्रसको मन्त्रिपरिषद्मा अर्थमन्त्री रहेका क्वासी क्वार्टेङले घोषणा गरेको आर्थिक नीतिका कारण बेलायती अर्थतन्त्रमा नकारात्मक प्रभव देखिन थालेपछि ट्रसले बर्खास्त गरेकी थिइन् । गृहमन्त्री सुएला ब्रेभरम्यानले पनि राजीनामा दिएपछि ट्रस संकटमा परेकी थिइन् । गत महिना बोरिस जोनसनको उत्तराधिकारी बनेपछि लिज ४५ दिनका लागि मात्र सत्तामा रहेकी थिइन् ।