राजनीति

४५७ मतले पृथ्वीसुब्बा गुरुङ अगाडि

By खबरहब

November 23, 2022

काठमाडौं – एकमात्र प्रतिनिधिसभा रहेको लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङको मतान्तर घट्दै गएको छ।

ब्धबार बिहान १:५० बजेको पछिल्लो मतपरिणामअनुसार यसअघि गुरुङ दुई हजारभन्दा बढीले अघि रहे पनि यतिबेला गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङभन्दा जम्मा चार सय ५७ मतले अघि छन्।

उक्त मत परिणाम सार्वजनिक गरिएअनुसार एमाले उम्मेदवार पृथ्वीसुब्बाको २० हजार तीन सय ७४ मत र माओवादी केन्द्रका देवप्रसाद गुरुङको १९ हजार नौ सय १७ मत प्राप्त भएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार हालसम्म ४७ हजार चार सय ९९ मतगणना सम्पन्न भएको छ। त्यस्तै हालसम्म एक हजार चार सय ४२ मत बदर भएको उनको भनाइ छ।

दोर्दी, क्व्होलासोथर, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ भने यतिबेला सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतमध्ये ८० हजार नौ सय १७ मत खसेको थियो।