राजनीति

कास्की- २(१) बाट एमालेका भीमबहादुर कार्की विजयी

By खबरहब

November 23, 2022

पोखरा – प्रदेशसभा सदस्यमा कास्की–२(१) बाट नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।

पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए ।

नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले चार सय ९३, स्वतन्त्र उम्मेदवारहरू दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याए।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा(एमाले)का विद्या भट्टराईले अग्रता बनाएकी छन् ।