ब्रेकिङ स्टोरी

कांग्रेसबाट झस्किएका प्रचण्ड र माधव नेपाल

By खबरहब

November 23, 2022

काठमाडौँ – सत्ता गठबन्धन गरेर चुनावमा होमिएका कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी चुनावी मत परिणामबाट झस्किएका छन्। यसरी झस्किनेमा माओवादी र नेकपा समाजवादी बढी छन्।

कांग्रेससँग ठूलो रस्साकस्सी गरेरै भागबन्डा हात पारेका माओवादी र समाजवादीका धेरै उम्मेदवार मुख्य मुख्य सहरमा पराजित भएका छन्। खासगरी माओवादीले जित्ने आकलन गरिएका धेरै ठाउँमा यसपटक रवि लामिछानेको स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।

काठमाडौँ २ मा ओनसरी घर्तीलाई चौथो स्थानमा राखेर रविको पार्टीबाट उठेकी पत्रकार सोविता गौतम विजयी भएकी छन्। यस्तै ललितपुर ३ मा पम्फा भुसाललाई पन्छाउँदै डा.तोसिमा कार्की विजयी हुने सम्भावना बढेको छ।

माओवादीले काठमाडौँमा कांग्रेसको भोटको अपेक्षा गरेर ओनसरी र पम्फा भुसाललाई उठाएको थियो। तर दुवै उम्मेदवारको पराजयले माओवादी नेताहरू कांग्रेसप्रति संशकित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीसँग बराबरी हैसियतमा झर्ने अवस्था माओवादीको हुँदा प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग धेरै हदसम्म झस्किएको अनुमान लगाइएको छ।

कांग्रेसको साथ र सहयोगले माओवादीले कम्तीमा यसपटक पनि ४० सिट जित्ने अनुमान गरिएको थियो। तर भागबण्डाअुनसार उम्मेदवारी दिइएका धेरै ठाउँमा माओवादी नेताहरू पराजित भएका छन्। अनि स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।

यसपटकको चुनावमा रवि लामिछानेको पार्टीले गर्दा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा लगायतका धेरै दल ठूलो धक्का खान बाध्य भएका छन्

यसपटकको चुनावमा रवि लामिछानेको पार्टीले गर्दा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा लगायतका धेरै दल ठूलो धक्का खान बाध्य भएका छन्। तर सत्ता गठबन्धनको धुवाँदार शक्तिले जित्ने आकलन गरेका माओवादी र समाजवादीका उम्मेदवारको हारले चुनावपछि सत्ता गठबन्धन दिगो रुपमा सहयात्रा गर्नेमा शंका थपिएको छ।

यता कांग्रेस र एमाले उम्मेदवारले आफ्नो संगठनअनुसार मत ल्याउने तर कांग्रेसको संगठनमा भर परेर आफू हार्ने अवस्था आएपछि माओवादी झस्किनु स्वाभाविक देखिएको छ। तर यसको ढिलो चाँडो असर गठबन्धनमा पर्ने निश्चित जस्तै छ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ ठाउँमा अग्रता लिँदा १३ ठाउँमा जित हासिल गरेको छ। एमालेले ४२ ठाउँमा अग्रता लिँदा जम्मा ३ जित हासिल गरेको छ। यस्तै माओवादीले १७ ठाउँमा अग्रता लिएको छ। तर उसले जितको खाता खोलेको छैन।

स्वतन्त्र पार्टीले ५ ठाउँमा अग्रता लिँदा ३ ठाउँमा जित हासिल गरेको छ। यही अवस्था रहेमा स्वतन्त्र पार्टी संसद्को चौथो ठूलो दल बन्ने निश्चित जस्तै छ। यस्तै समाजवादी ६ ठाउँमा अगाडि छ एउटा जित निकालेको छ। राप्रपा ४ ठाउँमा अगाडि छ। एउटा जित हासिल गरेको छ।

यसपटकको चुनावले गर्दा माओवादी फेरि तेस्रो दलमा खुम्चिएर निकै कमजोर बन्ने अवस्था रहेको छ। यसले कम्तीमा आफैँले बनाएको माओवादी पार्टी आफ्नै अस्थिर सत्ता स्वार्थका कारण सक्किदै गएको बुझाई प्रचण्ड गम्भीरसँग देखिने आकलन गर्न सकिन्छ। बाँकी अरुको भरमा सधैँ चुनाव जित्न सकिन्न भन्ने आकलन माओवादीकै कार्यकर्ता गरिसकेका छन्।

सत्ता गठबन्धन गर्ने भागबन्डामा रमाउने र जहिले आफ्नो हालीमुहाली राख्ने प्रवृत्तिकै कारण रवि लामिछानेको पार्टीको उदय भएकोमा पनि शंका देखिँदैन। यसमा सत्ता गठबन्धन नै जिम्मेवार देखिएको छ।