फाइल फोटो

राजनीति

काठमाडौँ – १ र ३ मा कांग्रेसको ‘क्लिन स्वीप’

By खबरहब

November 23, 2022

काठमाडौँ – काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् ।

काठमाडौँ–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए । श्रेष्ठ यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल वाग्मती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले तीन हजार पाँच सय चार मत पाए । यसैगरी, नेकपा (एमाले) का रामप्रसाद अम्गाईँले दुई हजार दुई सय ९७ मत प्राप्त गरे ।

१ कै प्रदेशसभा–२ मा कांग्रेसकै सुरजचन्द्र लामिछानेले चार हजार पाँच सय १० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद दुलालले दुई हजार सात सय ५३ मत प्राप्त गरे । दुलाल यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसका तर्फबाट पनि लामिछाने नै प्रतिस्पर्धामा छन् ।

काठमाडौँ–१ को प्रतिनिधिसभामा सोमबार राति नै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह विजयी भइसकेका छन् । सिंहको यो चौँथो पटकको जीत हो । नेता सिंह २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ को संसदीय निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यसैगरी कांग्रेसले काठमाडौँ–३ मा पनि ‘क्लिन स्वीप’ गरेको छ । काठमाडौँ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा सन्तोष चालिसे निर्वाचित भएका छन् । प्रदेशसभा १ मा कांग्रेसका छिरिङदोर्जे लामा र प्रदेशसभा २ मा कांग्रेसकै बिमल ठकुरी निर्वाचित भएका छन् ।