राजनीति

बर्दिया -२ मा स्वतन्त्रका चौधरी विजयी

By खबरहब

November 23, 2022

मधुवन– बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका हुन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उनी विजयी भएका हुन्।

चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गरे ।

यसैगरी नेकपा (एमाले) का पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरे । विजयी चौधरी रेशम चौधरीका बुबा हुन् ।

रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको हो ।  क्षेत्र नं. २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियो भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।