राजनीति

कास्की १ (२) मा एमालेका गुरुङ विजयी

By खबरहब

November 23, 2022

अन्नपूर्ण– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की-१ (२) मा नेकपा (एमाले) का उम्मेदवार वेदबहादुर गुरुङ विजयी भएका छन् । 

पोखरा-१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा आज सम्पन्न मतगणनामा एमालेका गुरुङले १२ हजार छ सय ६१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गुरुङले ११ हजार सात सय ९४ मत ल्याए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महेन्द्रबहादुर कार्कीले तीन हजार छ सय ५६ र हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले एक हजार पाँच सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका ख्यामबहादुर गुरुङले चार सय ५८, जनता समाजवादी पार्टीका हर्कबहादुर गुरुङले तीन सय ६२, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका गौमती गुरुङले एक सय एक मत ल्याएका छन् । 

सो क्षेत्रको प्रतिनिधिसभाको मतगणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा (एमाले) का मनबहादुर गुरुङ अग्रता बनाएका छन्।