फाइल फोटो

समाचार

अग्निपीडितका लागि सरकार समक्ष राहत माग गर्ने निर्णय

By खबरहब

December 23, 2022

खोटाङ – जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागीपीडितको राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले गत पुस ५ गतेको आगलागीबाट घर तथा जनसम्पत्ति गुमाएर विस्थापित भएका पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई संयोजकत्वको विपद् व्यवस्थापन समितिले गाउँपालिका अध्यक्ष संयोजकत्वको विपद् व्यवस्थापन समितिबाट प्राप्त क्षतिको विवरणका आधारमा राहत तथा क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो।

बैठकले आगलागी पीडितको सहयोगार्थ संकलन हुने राहत एकद्वार प्रणालीमार्फत संकलन र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ। बाक्सिला बजारमा आगलागीमा पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो।