फाइल तस्वीर

समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

By खबरहब

December 23, 2022

पोखरा – भर्खरै निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण भएको छ।

नेपालका निजी क्षेत्रका दुई विमान कम्पनीले नयाँ विमानस्थलमा जहाज ओरालेका हुन्। जनवरी १ तारिखका दिनदेखि औपचारिक उद्घाटन गर्न लागिएको विमानस्थलमा बुद्ध र यतीले बिहीबार डेमो फ्लाइट गरेका हुन्।

दुवै कम्पनीले हाल चालू अवस्थामा रहेको पुरानो विमानस्थलबाट एटिआर–७२ जहाजमार्फत नयाँ विमानस्थलमा उडान भरेका हुन्। दिउँसो २ बजेतिर यतीले उडान भरेको १ घण्टापछि बुद्धले उडान भरेको हो। दुवै विमान ७२ सिट क्षमताका हुन्।

विमानमा पोखराका मेयरदेखि हवाई क्षेत्रका पदाधिकारी, पर्यटन व्यवसायी र सन्चारकर्मीहरु यात्रु थिए। विमानका कर्मचारीलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान गरिएको नागरिक उयन प्राधिकरण पोखरा कार्यालयका प्रमुख विक्रम गौतमले जानकारी दिए।