खेलकुद

स्पेनिस ला लिगा : रोमाञ्चक खेलमा रियल मड्रिड बराबरीमा रोकियो

By खबरहब

January 24, 2022

काठमाडौं । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । शीर्ष स्थानको मड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

इल्चेले लिएको दुई गोलको अग्रतालाई उल्टाएर रियलले बराबरी खेलेको हो । रोचक बनेको खेलको ३३ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टी गोल गर्न सकेनन् । पेनाल्टी मिस भएपछि रियल सुरुवाती अग्रता बनाउन चुकेको थियो ।

उता इल्चेका लागि खेलको ४२ औँ मिनेटमा लुकास बोएले गोल गर्दै सुरुवाती अग्रता बनाए । दोस्रो हाफको ७६ औं मिनेटमा पेरे मिल्लाको गोलमा इल्चे २–० को अग्रता बनायो ।

खेल पुरै इल्चेको पोल्टामा परेको थियो । तर, खेलको अवधि आठ मिनेट मात्र बाँकी हुँदा रियलले पाएको पेनाल्टीको अवसरलाई लुका मोड्रिचले सदुपयोग गर्दै खेल २–१ मा फर्काए ।

त्यसपछि प्रेसरमा खेलेको रियलका लागि इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् ।

आइतबार बराबरी खेलेसँगै रियलले ५० अंक बनाएको छ । २२ खेल खेलेको रियल शीर्ष स्थानमा यथावत छ । १५ औँ स्थानमा रहेको इल्चेले २३ अंक बनाएको छ ।