राजनीति

स्वदेश फर्किएर पुनले भने– मैले महासचिवमा दावी गरेकै हो

By खबरहब

January 24, 2022

काठमाडौँ– उपचार गरी नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन् ।

जन्डिसको समस्या आएपछि गत असोजमा बैंकक र त्यसपछि चीनमा उपचार गरेर पुन सोमबार काठमाडौँ फर्किएका छन् ।

स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी नेता पुनले पार्टीको महासचिवमा आफ्नो दाबी रहेको बताएका छन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । तर सहमतिमै नेतृत्व छानिने उनले बताए ।

पूर्वमन्त्री पुनले आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको प्रतिबद्धता रहेको बताए ।

केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनको भनाइ छ ।