फाइल फोटो

समाचार

युक्रेनमा रहेका नेपाली सकुशल छन्ः एनआरएनए

By खबरहब

February 24, 2022

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ ।

एनआरएनएले बिहीबार विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो ।

‘युक्रेनमा रहनु भएका ३८ नेपालीहरू राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उहाँहरू युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरू सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसले बिहीबार विहानबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । यसपछि एनआरएनएले विज्ञप्ति निकालेर युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रहसमेत गरिसकेको छ ।

‘युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरू रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौँ,’ एनआरएनएले भनेको छ ।