समाचार

लमजुङको चेपाङबस्तीमा बालविवाहसम्बन्धी सचेतना

By खबरहब

March 24, 2022

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिका ११ चिति बरबोटफाँटको चेपाङबस्तीमा बालविवाहसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

सामुदायिक रूपान्तरणका लागि युवा नेपाल (वाईसीटी) नेपालले चेपाङवस्तीमा लक्षित गरी कार्यक्रम सञ्चालन गरेको हो । 

चेपाङबस्तीका किशोरी सानै उमेरमा विवाह गर्ने र आमा बन्ने समस्या रहेकाले उक्त क्षेत्रमा बालविवाहबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको वाईसीटी नेपालका अध्यक्ष रुपेश श्रेष्ठले बताए ।

उनले भने संस्थाले कलिलैमा विवाह गर्ने र उमेर नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा असर पार्ने भएकाले गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । 

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आर्थिक समस्या र अशिक्षाका कारण अझै पनि समाजमा उमेर नपुग्दै विवाह गर्ने प्रचलन कायम रहेको बताए ।

कार्यक्रममा जिल्ला अस्पताल लमजुङका शोभा ठकुरीले बालविवाह, बालविवाह गरेमा हुने कानुनी व्यवस्था, जिल्लामा बालविवाहको अवस्था लगायतको बारेमा जानकारी गराएकी थिइन् ।