भक्तपुर– भक्तपुरमा छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने भएको छ ।
‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा मेला हुन लागेको हो । ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ नाराका साथ २४ चैतदेखि ४ वैशाखसम्म मेला हुन लागेको हो ।
मेला सल्लाघारी तीनकुनेमा हुनेछ ।
मेलाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताए । उनले अब तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुटिसकेको जनाए ।
मेलामा २०० भन्दाबढी स्टल राखिने आयोजकले जनाएको छ। स्टलको साइजअनुसार कम्तीमा ६ हजारदेखि १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीलाई समेत स्टल उपलब्ध गराइने छ ।
मेलामा करिब ३ लाख उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ । करिब ८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । मेला संयोजक दीपक थापाले मेलामा बिक्री गरिने सामानमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाए ।