फाइल फोटो

अन्तर्राष्ट्रिय

रुस र युक्रेन जानुअघि संयुक्त राष्ट्रसंघका महासचिवले टर्कीको भ्रमण गर्ने

By खबरहब

April 24, 2022

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमण अन्त्यको पहलस्वरुप रुस र युक्रेनको भ्रमणमा जान लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले टर्कीको पनि भ्रमण गर्ने भएका छन् ।

उनले रुस र युक्रेन जानुअघि टर्कीको भ्रमण गर्ने संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनी सोमबार टर्कीको राजधानी अंकारा पुग्ने बीबीसीले जनाएको छ ।

त्यहाँ उनले राष्ट्रपति रेजेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसपछि मंगलबार उनी रुस पुगी त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सर्गेई लाभ्रोभसँग भेटवार्ता गर्नेछन् ।

त्यस्तै, बुधबार उनी युक्रेनको राजधानी किभ जाने बताइएको छ । त्यहाँ उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विदेशमन्त्री दिमित्रो कुलेबासँग पनि भेटवार्ता गर्नेछन् ।

टर्कीले रुस र युक्रेनबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको छ । केही समयअघि दुई मुलुकका वार्ता टोलीले टर्कीको इस्तानबुल शहरमा शान्ति वार्ता गरेका थिए ।