काठमाडौँ– डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
एक सय दुई वर्षीय वाङ्मय शताब्दी पुरुष जोशी किष्ट शिक्षण अस्पतालबाट १० दिनको उपचार पश्चात आइतबार डिस्चार्ज भएका हुन् ।
उनी पिसाब सम्बन्धी संक्रमण, मुटुको चाल सम्बन्धी र श्वास प्रश्वास नलीको फाइव्रो ब्रोङ्किएक्टेसिस सम्बन्धी समस्याका कारण शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको उपचार २ दिन आई.सि.यु केयरमा राखी बाँकी ८ दिन डिलक्स क्याबिनमा राखी उपचार गरिएको थियो । उनको उपचारमा प्रा.डा. मिलेश जंग सिजापति तथा प्रा.डा.राम भक्त कोजुको संयुक्त नेतृत्वमा विभिन्न विधामा चिकित्सकहरु संलग्न रहेका थिए ।
हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको, मुटुको चाल स्थिर रहेको र श्वास प्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजिम डिस्चार्ज गरिएको हो । डिस्चार्ज पश्चातको फलोअप उपचार उनको निवासबाटै गर्न सकिने र आवश्यक परेमा निवासमै मेडिकल सपोर्ट उपलब्ध गराइने अस्पतालले जनाएको छ।
गत माघ २५ गते पनि भर्ना भई सतौँ दिनको उपचार पश्चात वाङ्मय शताब्दी पुरुष जोशीलाई डिस्चार्ज गरिएको थियो ।