मुख्य समाचार

२३ हजार ५९१ जनालाई जग्गा धनी प्रमाण पूर्जा दिइयो : राष्ट्रपति 

By खबरहब

May 24, 2022

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पूर्जा दिएको बताएकी छिन् । विभिन्न कारणले जग्गा धनी प्रमाण पुर्जा नभएका नागरिकहरूलाई सरकारले पूर्जा दिएको राष्ट्रपति भण्डारीले बताएकी हुन् ।

भूमिहीन र सुकुम्वासी नागरिकहरूलाई सरकारले स्थानीय तह निर्वाचनअघि पूर्जा उपलब्ध गराएको थियो ।

राष्ट्रपति भण्डारीले २०७८ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने र देशलाई मध्य आय भएको मुलुकमा पुर्‍याउने सरकारको लक्ष्य रहेको पनि बताएकी छिन् । सन् २०२६ सम्ममा अति कम विकासोन्मुख मुलुकबाट स्तरोन्नति गरिने र त्यसका लागि ठोस योजना कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।

यस्तै, कोभिड महामारीको बेला असहज परिस्थितिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप परेको तर बिस्तारै विप्रेषण र पर्यटन आयमा सुधार हुँदै गएको राष्ट्रपति भण्डारीको दाबी छ ।

अब क्रमशः आर्थिक संरचनाहरूलाई सबल बनाउँदै सङ्कटग्रस्त जस्तै बनेको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्नेमा उनको जोड छ ।