राजनीति

यी हुन् मत परिणाम घोषणा हुन बाँकी पालिका

By खबरहब

May 24, 2022

काठमाडौँ– गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार मङ्गलबार साँझ ७ बजेसम्ममा ७५३ मध्ये ७४१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

कतिपय पालिकाको मत गणना कार्य सम्पन्न भएपनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा बाग्मती प्रदेशको काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, गण्डकी प्रदेशको पोखरा महानगरपालिका, प्रदेश नं १ को उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, मधेस प्रदेशको रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, लुम्बिनी प्रदेशको दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेको छ ।

सुदूरपश्चिममा बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी छ ।

आयोगको निर्णयपछि उदयपुरको त्रियुगामा आजदेखि मत गणना सुरु भएको छ ।