समाचार

खोरेत रोगको प्रकोपले एकै गाउँमा २० पशु मरे

By खबरहब

May 24, 2022

बैतडी : बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो ।

खोरेत रोगबाट धमाधम पशुहरु मर्ने गरेका छन् । पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए ।

नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन–५ का टोलहरुमा खटिएका छन् । तीन सय खोपसहित तीनजना पशु सेवा प्राविधिकहरुलाई गाउँमा खटाइएको हो । खुट्टामा घाउ हुने, खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर गरी पशुहरु मर्ने गरेको पाइएको छ ।

घरपालुवा जनावरमा खोरेत देखिएपछि किसानहरू चिन्तित भएका वडाध्यक्ष फुनी सिंह बोहराले जानकारी दिए । मकै लगाउने, रोपाइँ गर्ने समयमा गोरुहरुमा पनि खोरेत देखिएपछि खेत जोत्न मुस्किल भएको स्थानीय किसानहरुले बताएका छन् । रासस