पछिल्लो समय गीत संगीतभित्रका विकृत पक्षबारे पनि बाहिर आवाज आउन थालेका छन्। बाहिरबाट हेर्दा गीत संगीत जति सफा र सुन्दर देखिन्छ। भित्र भने अवस्था फरक छ। असाध्यै अस्वस्थ्य प्रतिस्पर्धाले गीत संगीतमा पनि धेरै विकृति र विसंगती भित्रिएका छन्। गीत संगीतभित्रका राम्रा र नराम्रा पक्षबारे बाहिर आवाज उठ्न थालेपछि त्यसभित्रका संघ संस्थाको धारणा पनि बाहिर आउन थालेको छ। पछिल्लो समय रोयल्टी संकलन समाजभित्रका विकृत पक्षका बारेमा पनि धेरै कुरा बाहिर आएका छन्। स्रष्टाहरु साच्चै मारमा परिरहेका बेला त्यसको कारण, पदाधिकारीको बेवास्ता र गलत मनशायबारे गीतकार महेश आचार्यले विस्तृत रुपमा खुलाएका छन्। उनै गीतकार आचार्यसँग खबरहबका लागि सेसेमी लिम्बुले गरेको कुराकानीको सम्पादित अंशः
गीतकार तथा सर्जकको लागि तपाईले विभिन्न हक र अधिकारको लागि आवाज उठाउँदै आउनु भएको छ। जुन प्रकारले यो अगाडि बढेको छ। त्यसरी अरु संघ संस्था पनि अगाडि बढेका छन्। यी संघ संस्थाप्रति कस्तो धारणा छन् तपाईंका ?
नेपाली गीत संगीतको क्षेत्रमा रहेर काम गरिरहने हामी धेरै संस्था छौँ। गीत संगीतलाई कसरी अगाडि बढाउन सकिन्छ, त्यो हाम्रो उद्देश्य हो। त्यसपछि स्रष्टा सर्जकको अधिकार कसरी सुनिश्चित गर्न सक्छौ। तर, यहाँ आ–आफ्नो डम्फु बजाउने चलन छ। र, संस्थाबीच समन्वय छैन। कार्यगत एकता हुन सकेन। अहिले नेपाली गीत संगीतमा विकृतिहरू धेरै छन्। यी विकृतिलाई हटाउन सबै संस्थाले एक भएर आवाज उठायो भने यो हट्छ। हामीले प्रयास गर्यौँ तर नेपाल जस्तो देशमा सबैको हितका लागि पहल गरौँ भन्दा समन्वय हुन सकेको छैन। हुने भनेको नेपाली गीत संगीतको एउटा गुणस्तर खस्किने नै हो।
सकारात्मक रूपमा हामी राम्रो काम गर्न लागि पर्यौ भने धेरै बाधाहरू आउँछन् हो ? अलिकति परिवर्तन र केही राम्रो काम गरौँ भन्ने मान्छे अथवा सिर्जनशील मान्छेको लागि त पाइला पाइलामा अवरोध छ।
तपाईंलाई वर्तमान कालमा हुँदै गरेका संघ संस्था कत्तिको अवैधानिक छन्, जस्तो लाग्छ ?
वर्तमानमा रोयल्टी संकलन समाज छ। त्यो आफैमा अवैधानिक छ। यो धेरै मिडियामा आएको छैन। किन अवैधानिक छ भने यो मलाई कमेडी जस्तो लाग्छ। साथीहरूले रोयल्टी बाँडे जस्तो गर्ने, सम्मान गरेजस्तो गर्ने। अहिलेको कार्यसमितिको चुनाव भयो त्यति बेला गीतकार संघ र सङ्गीतकार संघ नेपालले समन्वय भूमिका खेलेर यति गीतकार र सङ्गीतकार पठाउनु पर्छ भनेर गर्यौ। गर्दै जाँदा हामीले निर्वाचन वैधानिक हुन पर्यो भनेर निवेदन दर्ता गर्यौ। त्यो प्रतिलिपि अहिले पनि हामीसँग छ। यसरी हामीले आवाज उठाउँदा त्यहाँका मानिसहरूले भीड ल्याउनुभयो। जो भोटर नै होइन। त्यसलाई हुँदैन भन्दा हैन हुन्छ। पहिला त भएको थियो भन्नुभयो। त्यसो त हाम्रा पूर्खाहरूले कपडा लगाएनन् हामी पनि नाङ्गै हिड्यौ त ? नियम कानुन पालना त गर्नु पर्यो नि भनेर हामीले रोक्यौं हामी राति ११ बजे पछि फर्कियौँ। त्यसपछि उहाँहरूले यो अध्यक्ष उपाध्यक्ष भनेर स्वतः घोषणा गर्नुभएछ।
त्यसपछि मैले प्रतिलिपि अधिकारको कार्यालयमा गएर यो अवैधानिक छ भनी यसलाई खारेज गरेर पुन सदस्यको मात्र निर्वाचन गराई पाउँ भनी निवेदन दिएको थिएँ। प्रतिलिपि अधिकारको कार्यालयले यसलाई अहिलेसम्म निर्णय गरेको छैन। त्यसकारणले वर्तमानमा रोयल्टी संकलन समाज अवैधानिक छ। गैर कानुनी छ। यसले गरेका अवैधानिक गतिविधिहरू खारेज गरौँ। त्यति मात्र हैन त्यसका अध्यक्ष भ्रष्टाचारको आरोपित हुनुहुन्छ। उहाँविरुद्ध अख्तियारमा उजुरी। छ छानबिन हुँदैछ।
कुन चाहिँ नैतिकताका आधारमा भ्रष्टाचारमा मुछिएको मान्छे फेरि दर्ता गर्नुभयो ? कसरी उहाँ अध्यक्ष हुनुभयो व्यतिगत रूपमा म सम्मान गर्छु। तर उहाँ अवैधानिक हो। यो नेपाली सङ्गीत उद्योगमा अत्यन्तै कालो दाग हो। रोयल्टी सङ्कलन समाज गीतकार र सङ्गीतकारको संस्था हो। गीतकार सङ्घ र सङ्गीतकार सङ्घलाई त केही थाहा छैन। कार्यक्रम राखेको जानकारी नै छैन। कसलाई बेलाएर कार्यक्रम गर्नुभयो त ? यो नाटक मञ्चन बन्द गर्नुहोस्। यो गरेको सरासर गलत हो। पापको भारी नबोक्नुहोस् भोलि भावी पुस्ताले सराप्न सक्छन्।
रोयल्टी संकलन समाज भ्रष्टाचारको अखडा हो भन्न खोज्नु भएको हो ? हो। भ्रष्टाचार अखडा हो। स्रष्टा मारा त्यो संस्थाको गतिविधि सम्मानित अख्तियारमा अनुसन्धान भइरहेको छ। यसको नतिजा पनि स्रष्टाको हितमा आओस्। यो अभियान रोकिने छैन। रोयल्टी संकलन समाजको दुई वटा काम छन्। एउटा रोयल्टी उठाउने र अर्को बाड्ने। २५ प्रतिशत कार्यालय खर्च भनेर राख्ने र ७५ प्रतिशत बाँड्ने हो।
नेपालमा विभिन्न स्रष्टा हुनुहुन्छ, उहाँहरूले नै रोयल्टी भनेर बुझ्नु भएको छैन ? रोयल्टी भनेको कुनै पनि सिर्जना कुनै पनि रूपमा प्रयोग गरे बापत तिरिने पैसा हो। त्यो चाहिँ स्रष्टाको हकमा सङ्गीतकार र गीतकारलाई तिरिन्छ। कुनै पनि सिर्जनामा सार्वजनिक रूपमा वा अन्य रूपमा प्रयोग गरे बापत दिने पैसा हो। रोयल्टी सङ्कलन छ। कार्यान्वयन छ। ट्रान्सपरेन्सी हुनुपर्यो। बाँडेको रोयल्टीको डिटेल हुनुपर्यो। संकलित रोयल्टी ५५ प्रतिशत खर्च गर्यौ भनेर लाज पचाएर नबोल्नुहोस्। तर, त्यो त वैधानिक संस्थालाई भन्नु पर्नेरहेछ। यहाँ त संस्था नै अवैधानिक रहेछ। खारेज हुन लागेको संथालालाई बचाउने हामी र अहिले आएर जुन नाटक मंञ्चन भइरहेको छ त्यो नेपाली गीत सङ्गीतमा ठूलो कालो धब्बा हो।
संगीतिक क्षेत्र प्राविधिक रूपमा स्तरीय बलियो हुँदै गएको छ। साथसाथै नकारात्मक पक्ष पनि देखिन्छ, तपाईँले यी कुरालाई कसरी लिनु भएको छ ? प्राविधिक रूपमा नेपाली गीतहरू एकदमै स्तरीय छन्। राम्रो शब्द भयो भने विश्व स्तरीय सङ्गीत गर्न सक्नुहुन्छ। अहिलेका सङ्गीतकार एकदमै राम्रो त्यसमा पनि नयाँ युवा पुस्ताका हुनुहुन्छ। प्राविधिक रूपमा राम्राराम्रा गीतहरू आए। त्योसँगै प्राविधिक पक्षसँगै सोसल मिडियालाई हेर्दा गीत विभिन्न ढङ्गले बंङ्ग्याएर टुक्राएर युट्युब, टिकटकमा हाल्ने चलन आयो यसले निको गरेको छैन।
अर्को कुरा एउटा साधना गरेर गीत लेख्ने मान्छे र अर्को पैसा कमाउने भावनाले लेखी टोपलेर बनेको गीतकार र अर्को गीतसार अरूको गीतमा दुई वटा शब्द फेर्यो गीत बजाई हाल्यो। प्रविधिले त गीत सङ्गीतलाई माथि लान खोजेको हो तर विकृति पनि धेरै छ। हामी व्यक्तिगत रूपमा यदि सांगीतिक क्षेत्रलाई राम्रो गतिमा डोर्याउन चाहन्छौँ भने आजैबाट परिवर्तन आउन जरुरी छ। सत्यराज आचार्य र स्वरुपराज आचार्यको सङ्गीत र मेरो शब्दमा ‘वस्तु हैन चेली कोही बेच्नु हुँदै हुन्न, आमा दिदी बहिनी रुँदा भलो कहीँ हुन्न’ भनेर तयार भएको छ। यस्ता कैयौँ सन्देशमुलक गीत छन्।
तपाईले लेख्नु भएका कथावस्तु अथवा परिकल्पना छन्, ती कुरा केबाट प्रेरित भएर गर्नु भएको छ ? आफ्नो मिठो भावनालाई करेक्सन गर्दा गीत बन्छ। कुनै घटना, पुस्तक पढ्दा, देश भक्तिबाट शब्दहरू खुल्छन्। गीत त भावनाको प्रष्फुटन हो। मानिस भित्र भएको नवरसको प्रस्फुटन हो।
सबै श्रोतालाई के सन्देश दिन चाहनुहुन्छ ? सम्पूर्ण सञ्चारमाध्यम सञ्चार गृह, छापा अनलाइन मिडियाले कम्तीमा सिर्जनाको प्रयोग गर्दा संस्थाको नैतिक अधिकारको सम्मान गर्नुहोस्। कुनै गीत बजाउँदा वा स्ट्याटस राख्दा फलानो गीतकारको गीत हो भनेर राख्दिनुहोस्। गीत सङ्गीत बाहेक पनि मेरो बाल साहित्यमा किताब ‘रुम टु रिड’ले ल्याउँदै छ, ‘स्याल टोपे र काल टोपे भन्ने कथाको किताब आउँदै छ। माया गरिदिनुहोस्। हामी सबै मिलेर गीत संगीतको विकृति र फोहोरको थुप्रोलाई सबै मिलेर सफा गर्नुपर्दछ।