बलिउड/हलिउड

अनुपम भन्छन्, ‘पशुपति आउँदा मनलाई शान्ति मिल्छ’ 

By खबरहब

June 24, 2022

काठमाडौँ– बलिउड अभिनेता अनुपम खेरले आफ्नो छोटो नेपाल भ्रमण सकाएर फर्किएका छन् । उनी बुधबार नेपाल आएर बिहीबार फर्किएका हुन् । एक मोटिभेसनल कार्यक्रमको वक्ता बनेर खेर पुनः नेपाल आइपुगेका हुन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार दिउँसो जीवन बाँच्ने कला र आशावादिताबारे अनुभव र ज्ञान बाँडे । बुधबार काठमाडौं आइपुगेका उनी एक दिन बसेर बिहीबार बेलुका भारत फर्किएका छन् । एक बीमा कम्पनीले उनलाई वक्ताको रुपमा नेपाल ल्याएको थियो । बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर खेरले पूजाआजा गरे । 

उनी नेपाल आउँदा पशुपति नाथ पुग्ने गरेका छन् । नेपाल आउँदा उनी आफूलाई गौरवान्वित महसुस गर्ने गरेका छन् ।  उनले पशुपतिनाथ पुगेपछि आफ्नो सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै एक पटक फेरि काठमाडौंमा रहेको भगवान् पशुपतिनाथको मन्दिरमा प्रार्थना गर्ने अवसर प्राप्त भएको जनाएका छन् ।  ‘यो मन्दिर र यहाँको शिवलिङ्ग हजारौं वर्षदेखि छ । यहाँ आउन पाउँदा मनलाई शान्ति त मिल्छ नै, उर्जा पनि प्राप्त हुन्छ । मानिसहरुको भीडभाड, पूजाआजा, जय भोलेनाथ, हर हर महादेव भनेको सुन्दा मनलाई निकै शान्ति मिल्छ’ उनले भिडियोमा भनेका छन् ।