समाचार

जेठ महिनामा मात्रै ६२ हजारभन्दा बढीले लिए विदेश जान श्रम स्वीकृति

By खबरहब

June 24, 2022

काठमाडौँ- वैदेशिक रोजगार विभागले गएको जेठ महिनामा ६२ हजार ३४९ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।

विभागले उनीहरुलाई २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा श्रम स्वीकृति प्रदान गरेको हो । श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् । ८३ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ ।

सबैभन्दा बढीले जेठ महिनामा कतार जानको लागि श्रम स्वीकृति लिएका छन् । पछिल्लो महिना कतार जान १५ हजार ५६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार साउदी अरेबिया जान १२ हजार ७०१, युनाइटेड अरब इमिरेट्स (युएई) जान ११ हजार १६७, मलेसिया जान ९ हजार ६४९, कुवेत जान ५ हजार ७३५, बेलायत जान १ हजार १६६, रोमानिया जान १ हजार ५७८, जापान जान १ हजार ७४ र बहराइन जान ९९२ जनाले श्रम स्वीकृति लिएका छन् ।