फाइल फोटो

देश/प्रदेश

ललितपुर महानगरले २९ पार्क निर्माण गर्ने

By खबरहब

June 24, 2022

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए । गत पाँच वर्षमा महानगरभित्र आठ पार्क बनेको र छ पोखरीको पुनःनिर्माण भएको थियो ।

फोहर व्यवस्थापन गर्दै शहरलाई सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेशन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्ने, फोहर सङ्कलनमा संलग्न हुने व्यवसायीलाई दर्ता गरी अनुगमन गर्ने महानगरको कार्यक्रममा उल्लेख छ ।

फोहरमैला वर्गीकरण गरी कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट प्लान्टको स्थापना गरिने र फोहरको दीर्घकालीन व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अध्ययन गरिने उल्लेख छ । साझा यातायात प्रालिसँगको समन्वयमा विद्युतीय बस सञ्चालन गरिने र विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनमा जोड दिइने भएको छ ।

कालोपत्र भएको सडक दुई वर्षसम्म खन्न नदिइने र कालोपत्र गर्दा जमिनमुनिको पानीको स्रोतमा ध्यान पु¥याइने महानगरको कार्यक्रममा उल्लेख छ । आगामी आवमा उच्च गुणस्तरको अपाङ्गतामैत्री पैदल यात्रुमार्ग निर्माण हुनेछ । ढल निर्माण गर्दा पानीको स्रोतमा असर नपर्ने नीतिलाई कडाइका साथ लागु गरिने र महानगरभित्रका पुराना र नयाँ ढल संरचनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्दै लगिने उल्लेख छ ।

परम्परागत राजकुलो टीकाभैरवबाट लगनखेलसम्म ल्याउन डिपिआर गरिनेछ भने ढुङ्गेधारा, इनार, पोखरीलगायतका पानीको स्रोतको संरक्षण गरिने बताइएको छ ।

दश हजार वर्गफिट वा १७ मिटरभन्दा अग्ला भवनको निर्माणमा महानगरमा सूचीकृत परामर्शदाता मध्येबाट तेस्रो पक्ष प्रमाणीकरणको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । नगर क्षेत्रभित्र रहेका अव्यवस्थित तारलाई सरोकारवालासँगको समन्वयमा भूमिगत गरिने उल्लेख छ ।

बुङमति र खोकनाको पुरानो बस्तीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने र अमूर्त सम्पदाको अध्ययन अनुसन्धानका आधारमा युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइने छ ।

पर्यटकलाई लक्षित गरी बालकुमारीस्थित पर्यटकयि बसपार्क सञ्चालन गरिने र महानगर आउने पर्यटकलाई फर्कंदा यहाँ नै निर्मित हस्तकला चिनोका रूपमा दिइने कार्यक्रम अघि बढाइने प्रमुख महर्जनले बताउनुभयो । हस्तकलातर्फ महानगरपालिका वल्र्ड क्राफ्ट सिटीको सदस्य भइसकेकाले यहाँका स्थानीय हस्तकला विकास, प्रवद्र्धन र बजारीकरणमा जोड दिइनेछ ।

महानगरपालिकाले ‘उपमेयरसँग महिला तथा बालबालिका कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ । अपाङ्गता भएका व्यक्तिलाई रोजगार तथा स्वरोजगारका लागि सूचना, सेवा तथा टेवाका लागि सीपमूलक तालिम सञ्चालन हुनेछ । स्थानीयस्तरमा खेलकुदलाई प्रोत्साहन गर्न ए, बि र सी डिभिजन फुटबल टिमलाई प्रोत्साहनका कार्यक्रम समावेश गरिएको छ । रासस