फाइल फोटो

समाचार

भरतपुर अस्पतालमा आजदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क

By खबरहब

July 24, 2022

भरतपुर- चितवनको भरतपुर केन्द्रीय अस्पतालले आजदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क गरेको छ ।

अस्पताल विकास समितिको निर्णय अनुसार आज साउन ८ गते देखि अस्पतालमा स्वास्थ्य परीक्षणको लागि जाने सम्पूर्ण सेवाग्राहीहरूको लागि ओपिडी टिकट निःशुल्क गरिएको हो ।

अस्पतालमा आउने अति गरिब तथा सीमान्तकृत सेवाग्राहीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच हुन्छ भनेर यो निर्णय गरिएको अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बताए । अति गरिब, बेवारिसे, विपन्न तथा सीमान्तकृत समुदायलाई अस्पतालको आकस्मिक कक्षमा समेत टिकट र उपचार निःशुल्क भइरहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने उद्देश्यले ओपिडी टिकट निःशुल्क गरिएको बताए ।

अस्पतालमा ओपिडी जाँच गर्न आउने बिरामीको चाप बढ्न थालेपछि भीड व्यवस्थापन गर्न अस्पतालले यसअघि ओपिडी टिकट काउन्टर थप गरी समय समेत बढाउने निर्णय गरी सोही अनुरूप सेवा सञ्चालन गर्दै आएको छ ।