अपराध

झापामा तीन किशोरी झुण्डिएको अवस्थामा फेला

By खबरहब

July 24, 2022

बनियानी- दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

उनका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको छैन ।

सोही चिया बगानमा काम गर्दै आएका उनीहरू शनिबार दिउँसोदेखि घरबाट सम्पर्कविहीन भएको र आज बिहान रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए। घटनास्थलमा प्रहरी खटाइएको र अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पाठकले बताए।