संकेतिक तस्वीर- अनादोलु एजेन्सी

अन्तर्राष्ट्रिय

इजरायली गुप्तचर संस्था मोसादका सदस्यलाई पक्राउ गरेको इरानको दाबी

By खबरहब

July 24, 2022

काठमाडौँ- इरानले इजरायलको जासुसी सञ्जालका सदस्यलाई पक्राउ गरेको दाबी गरेको छ । इरानी सुरक्षा बलले देशमा रहेको इजरायली जासुसी सञ्जालका सबै सदस्यलाई पक्राउ गरेको सकारी समाचार निकाय इर्नाले जनाएको हो ।

इजरायली जासुसी सञ्जालका सदस्यहरूलाई इरानमा आतङ्कवादी कारवाही सञ्चालन गर्न पठाइएको भएपनि कुनै पनि आतङ्क वा विध्वंसात्मक गतिविधि गर्नुअघि नै उनीहरूलाई पक्राउ गरिएको इरानी गुप्तचर मन्त्रालयको एक विज्ञप्तिमा जनाइएको छ ।

इराकको कुर्दिस्तान क्षेत्रबाट इरान प्रवेश गरेका सञ्जाल सदस्यहरू छिमेकी राज्यमार्फत इजरायली गुप्तचर संस्था मोसादसँग सम्पर्कमा रहेका तथा उनीहरूले अत्याधुनिक उपकरण र शक्तिशाली विस्फोटक पदार्थ बोकेका विज्ञप्तिमा उल्लेख छ ।

मोसादका गतिविधिको निरीक्षण, निगरानी एवम् सञ्चालन गर्ने इजरायली प्रधानमन्त्रीको कार्यालयले आफ्ना सदस्य इरानमा पक्राउ परेका सम्बन्धमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।