अन्तर्वार्ता

‘अब प्रधानमन्त्री हुने पालो प्रचण्डको हो’

By खबरहब

August 24, 2022

काठमाडौँ – आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनको तयारीमा दलहरूले तयारी थालिसकेका छन्। वि.सं. २०७४ को निर्वाचनमा जनताले कम्युनिस्ट दललाई स्थायी सरकार बनाउने गरी भोट दिए पनि दलहरुबीचको आन्तरिक द्वन्द्व र किचलोले पुनः पार्टी फुट्दा काँग्रेस नेतृत्वको गठबन्धन दलको सरकार छ । अहिले सोही गठबन्धन दलले मिलेर जाने चुनावी तयारी थालेको छ भने अर्कातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै चुनाव लड्ने तयारी थालेको छ । स्वतन्त्र उम्मेदवारहरुले पनि विभिन्न स्थानबाट निर्वाचन लड्ने घोषणा गरिरहेका छन् । आगामी निर्वाचनपछि देशमा कसको सरकार बन्ला, स्वतन्त्र उम्मेदवारहरुको सम्भावना कस्तो छ लगायतका विषयमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग खबरहबका लागि चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीः

धरानका मेयर हर्क साम्पाङले काठमाडौं आएर तपाईँलाई भेटे , उनी धरान फर्किएपछि काठमाडौंका मेयरसँग सामाजिक सञ्जालमा ब्याटलै भयो, यसलाई कसरी लिनुभएको छ ?

स्वतन्त्र भनेको कुनै राजनीतिक या प्राकृतिक हैन । एउटा प्रतिक्रियात्मक कुरा मात्र हो । प्रतिक्रियात्मक रूपमा कुनै पनि मान्छे जिम्मेवार पदमा पुग्छ भने उसले आफ्नो जे हैसियत छ, त्यो देखाउँछ ।  त्यही अनुसार उनीहरूले ब्याटलको कुरा ल्याएका छन् त्यो कुनै मान्छेले मन भित्र जे छ त्यो बाहिर ओकल्छन् ।

स्थानीय तहमा जनताले निर्वाचित गरेर मेयरजस्तो पद लिएपछि उनीहरूले गरेको देखाएको क्रियाकलापहरू यो परिपक्वता हो कि काँचोपन हो कि के सन्देश दिनुहुन्छ तपाईँले ?

उनीहरू यो कुराहरू सिक्दै छन् । त्यो अनुसारको राम्रो कुराहरू सिके भने माथि पुग्छन् नभए राजनीतिबाट बिलाउँछन्।

हर्क साम्पाङ आएर तपाईंसँग भेट भएपछि के के कुरा भयो त ?

हर्क साम्पाङ भनेको एउटा जनजातिबाट आएको एउटा निश्चल मेयर हो । जनजाति पृष्ठभूमिको मान्छेहरूमा जुन किसिमको मानसिकता हुन्छ र जुन किसिमको छलकपट हुन्छ, त्यो मैले हर्क साम्पाङमा देखेको छैन ।

हर्क साम्पाङ र बालेन्द्र शाहमध्ये परिपक्वता र कामका हिसाबले को अब्बल छन् त ?

दलहरुले गरेका क्रियाकलापहरुलाई देखेर जनताहरूमा जुन आक्रोश थियो, त्यो उनीहरूले प्रतिक्रियाविरुद्ध व्यक्त गरेका हुन् । विजयी पनि भए हर्क साम्पाङ सामुदायिक जगबाट उभिएका छन् त्यसैले उनको खुट्टा बलियो लाग्छ । बालेन्द्र शाह हौवाको भरमा चुनाव जिते । त्यसकारण कमजोर धरातलमा उभिएका छन् । अझै एक वर्ष दुवैलाई निरन्तर काम गर्न दिनुपर्छ । कुनै अवरोध गर्नुहुँदैन ।

पछिल्लो समय स्वतन्त्रले यो देशलाई के गर्ने हुन् भन्ने डर व्याप्त छ , यो कार्यकालले स्वतन्त्रहरूको भविष्य र आगामी स्वतन्त्र रुपमा उठ्ने उम्मेदवारहरूलाई उनीहरुले के सन्देश दिएका छन् ?

सन्देश दिनेभन्दा पनि कामद्वारा नै सबैको मन जित्नेको अहिले उनीहरूले कामद्वारा मन जित्ने अवसर छैन । किनभने उनीहरूसँग अहिले उचित पूर्वाधारहरू छैनन् । दलहरूले असहज गराएका छन् ।

त्यसलाई चिरेर उनीहरूले अगाडि बढे भने राम्रो हुन्छ । उनीहरूले धेरै काम गर्न खोजेका छन् । काठमाडौँमा बालेन्द्र शाहले फोहोरको कुराहरू गरेका छन् । विवाद थपिएको छ । अलमल नै छन् । र हर्क साम्पाङले पानीका कुरा वृक्षारोपणका कुराहरू गरेर जनतामा आशाका किरणहरू देखाएका छन् ।

अहिले स्वतन्त्रबाट उम्मेदवारी दिइरहेका छन् , निर्वाचित स्वतन्त्र मेयरहरूको यो कार्यशैलीले कस्तो प्रभाव पारेको छ त ?

यसले नकारात्मकता नै सिर्जना गर्दछ जस्तो लाग्छ मलाई । किनभने उनीहरूले गरेको विवादको भुमरीमा नै रोम लिएका छन् । अहिले आएका पात्र उनीहरूले एउटा समाजले स्वामित्व ग्रहण गर्ने खालको व्यक्तित्व पस्केको भन्ने मलाई लाग्दैन।

पहिले त उनीहरुले वैचारिक र सैद्धान्तिक अवधारणा प्रष्ट पार्नुपर्छ । उनीहरुका बीचमा एउटा बृहत् एलाइन्स पनि बन्न जरुरी छ । अर्थात् स्वतन्त्रहरुको आफ्नै एउटा टिम । यसरी दुवैजना मिलेर समाजमा गए भने मात्र सफलता हासिल गर्न सक्छन् ।

मङ्सिर ४ गतेको चुनावी मूल एजेन्डा बनाएर अलिकति त्यता लर्केको जनसमर्थनलाई फेरि ब्याकअप गरेर दलीय राजनीतिमा नै तान्ने षड्यन्त्र गरेर जानाजान हामीलाई असफल बनाए भन्छन् नि त , त्यो हो कि हैन ?

त्यो हो भने राजनीतिमा ठूलो चुनौती हो, त्यसलाई पन्छाएर अगाडि बढ्नुपर्छ ।

रवि लामिछानेको एक दुई महिनाको क्रियाकलापलाई हेर्दा उनी कत्तिको पाको राजनीति गर्ने पात्र ठान्नुभयो त ?

रवि छामिछाने राजनीतिक रूपमा सक्रिय भएजस्तो मलाई लाग्दैन । जति गरे पनि जनता कता जान्छन् भन्नेमा भर पर्दछ । त्यो सबै कुरालाई जनताले निर्णय गर्ने कुरा हो । एउटा धक्का मात्र हो कि, विकासको लहर ल्याउँछ भनेर आउँदै गरेको निर्वाचनमा भर पर्दछ । पछि आउने मतपेटिकाका आधारमा भर पर्दछ । यो एउटा प्रतिक्रिया हो । दलहरूले गलत गरेका छन्, त्यसमा हाम्रो समर्थन छैन भन्ने संकेत मतादाताहरूले दिएका छन् ।

यो गठबन्धन चुनावसम्म टिक्ला कि न टिक्ला के देख्नुहुन्छ ?

गठबन्धन टिक्छ जस्तो लाग्छ मलाई । किनभने यो स्वार्थी र अवसरवादीहरूले बनाएको सरकार हो । आफ्नो स्वार्थ पूरा गर्नका लागि लक्ष्यसम्म पुर्‍याउन सक्छन् । स्वार्थ अहिलेसम्म ठूल्ठूला उपलब्धिहरू हासिल गरेका छन् । जनताहरूले यो हामीलाई मान्छे छैनौँ भनेर भने भने यो हट्ला नभए यो अगाडि जान्छ ।

मङ्सिर ४ सम्म जाँदा एउटा गठबन्धन र अरू एक्लो पार्टीका रूपमा देख्न हुन्छ ?

गठबन्धनको विकल्प गठबन्धन नै हुनु स्वभाविक हो । बाँकी रहेका शक्तिहरूलाई एकै ठाउँमा राखेर एमालेले एउटा भरपर्दो गठबन्धन गर्नुपर्छ । एमालेले अब बाँकी दलहरूसँग एकता गरेर अगाडि बढ्छ ।

अब एमालेले बचेका राजनीतिक दलहरूसँग एकता गर्छ र अगाडि बढ्छ जस्तो मलाई लाग्छ । फोहोरी नै फोहोरी राजनीतिक दलहरूमध्ये कम फोहोरीमा बाध्य भएर मतदान गर्नुपर्ने अवस्थामा नेपालका राजनीतिक शक्ति र जनताहरू छन् ।

यो ठूलो गुण्डा र सानो गुण्डाबीचको युद्ध हो । त्यसमा पनि अलि भ्रष्ट्राचार नगर्ने र देश नबेच्नेलाई जनताले भोट हाल्नुपर्‍यो।

आउँदो चुनावमा जनताले गुण्डालाई भोट हाल्नुपर्ने भएको हो ?

शेरबहादुर देउवालाई भोट नहाली हुँदैन । केपी ओलीलाई पनि भोट नहाली हुँदैन । प्रचण्डलाई नहाली हुँदैन । जसरी पनि जिताई हाल्छन् । यसपटक छोरीलाई कसरी जिताए भन्ने त सबैलाई थाहै छ । यसमा न अदालतले केही गर्न सक्यो न निर्वाचन आयोगले केही गर्न सक्यो ।

फेरि पनि मुलुक अस्थिर राजनीतिले रगडिने देखियो हैन त ?

त्यो हो । किनभने एमालेले नै जित्यो भने पनि सग्रतामा मात्र हाबी गर्ने हो बहुमत ल्याउने हैन गठबन्धन दलले बहुमत नै ल्याए पनि त्यो गठबन्धनको मात्र बहुमत हुन्छ । दलको हुँदैन ।

हिन्दू धर्म राज्य र संघीयताको विषयलाई मङ्सिर ४ सम्म कुनै दलले खुला रूपमा उठाउलान् कि नउठाउलान् ? तपाईंको विष्लेषण के छ ?

गर्न सक्छन् । किनभने यिनीहरू अवसरवादी हुन् कति बेला आफूलाई कहाँ पुर्‍याउँछन् थाहा हुँदैन । कति बेला दल बदल्छ, कति बेला गुट बदल्छ, त्यो कसैलाई थाहा हुँदैन त्यसैले नेपालका राजनीतिक दलहरू भनेका प्राय अवसरवादीहरू नै हुन् । कति बेला धर्मको कुरा गर्छन् भन्न सकिँदैन  ।

वामदेव गौतम र बाबुराम भट्टराई प्रचण्डसँग नै आए भन्न मिल्ला यो दृश्यले के भन्छ , उनीहरूको भविष्य कत्तिको सुनिश्चित देख्नुहुन्छ ?

त्यो जनताको हातमा छ । बाबुराम आफूभन्दा पनि छोरीलाई अगाडि बढाउने प्रयासमा छन् भन्ने सुनिन्छ । यिनीहरू फोहोरी राजनीतिक दलहरू हुन् । यिनीहरूले राजनीतिलाई अड्कली अड्कली आफ्नो पोल्टामा हाल्छन् । वामदेवको हकमा पनि श्रीमती हाउसमा नै होलिन् । त्यसैले यो कुनै विषय हुँदैन ।

प्रधानमन्त्रीको कुरामा काँग्रेसले पहिला तोकेर अगाडि जाला कि प्रचण्ड फेरि प्रधानमन्त्री बन्छु भनेका छन् , अब मुलुकको नेतृत्व कसले सम्हाल्ला मङ्सिरपछि ?

प्रधानमन्त्रीमा अग्रता हुनुपर्ने अब पालो प्रचण्डको हो । तर अब नेपालमा खुट्टा टेक्न नसक्ने, भिजन नभएको, ल्याँगे किसिमका मन्त्री प्रधानमन्त्री हुने अभ्यास छ । त्यसकारण शेरबहादुर देउवा पनि बन्न सक्छन् । र भित्रबाट उनले बिस्तारै आफ्नो तयारी गरेका होलान् ।

यो सबै कुरा जनताबाट निर्धारण हुन्छ । अहिलेको प्रधानमन्त्री हुनेभन्दा पनि कसलाई रोक्ने भन्ने ठाउँलाई बलियो बनाउनु पर्दछ ।

आन्तरिक कुराले प्रधानमन्त्री बन्ने हो कि हाम्रो रिमोट बाहिर छ भनेर बाहिरी शक्तिले नै बनाउने हो ?

राजनीतिमा बाहिरी सहायक जस्तो हुन्छ । भोट हाल्ने त जनताहरू नै हुन् । राजनीतिमा मुख्य तत्त्व आन्तरिक कुराले हुन्छ तर नेपालको कुरामा बाहिरी शक्तिले पनि नेतृत्व आदि गर्दछ ।

प्रचण्ड , देउवा र केपी ओलीमध्ये तपाईँको दृष्टिकोणमा इमान्दार र देशप्रेमी नेता को जस्तो लाग्छ ?

यी तीनजना नै उस्तै हुन् तर त्यसमा अलिकति गतिशील प्रचण्ड छन् ।

प्रस्तुति : पुष्पाञ्जली बस्नेत