काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गरे । भेटमा एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
२. काठमाडौं महानगरपालिकाले हटायो संरचना
काठमाडौं महानगरपालिकाले सुन्धरास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । मेयर बालेन्द्र शाह आफै उपस्थित भएर आज बिहान अवैध रूपमा बनेका अनधिकृत संरचना हटाउन डोजर लगाइएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन यसअघि नै ३५ दिने सूचना जारी गरेको थियो । सो समय सकिएपछि महानगरले अवैध रूपमा बनाएका टहरा भत्काउन थालेको हो ।
३. मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिका–२ हङकङ डाँडामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी रहेका छन् । उपचारका क्रममा आज बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा उनको मृत्यु भएको हो । गए राति सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
फरार रहेको मोटरसाइकलमा पछाडि सवार महोत्तरीको गौशाला नगरपालिका–१ का २४ वर्षीय अशोक राउतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
४. गोरखामा तीजको दर खाएका एकै गाउँका सय भन्दा बढी बिरामी
गोरखामा तीजको भोज खादा एक सय भन्दा बढि मानिस बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । भोज खाएका अधिकांश बिरामी परेका छन् ।
कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । त्यही साँझदेखि नै भोज खाएका सबै बिरामी परेको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
बिरामी परेको थाहा पाएपछि गाउँमा स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।
५. शैलुङ कन्स्ट्रक्सनलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध
सरकारले शैलुङ कन्स्ट्रक्सनलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको छ । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।
काठमाडौं उपत्यकामा थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, लगायतका आरोप अधिकारीमाथि छ ।
६. सामसङ टिभी अब नेपालमा नै बन्ने
सामसङ टिभी अब नेपालमा नै बन्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गनाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो ।
टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको आज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले फ्याक्ट्री शिलान्यास गरेका हुन् ।
विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन लगानीकर्ताहरूलाई उनले आग्रह गरे ।
७. विराटनगरमा दुई समुहको झडपमा १० जना घाइते
मोरङको विराटनगरमा दुई समुहबीच झडप हुँदा १० जना घाइते भएका छन् । हिजो साँझ भएको झडपमा परि घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
विराटनगर महानगरपालिका–१२ मल्हनवा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ । पुरानो रिसइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् ।
उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
८. कर वृद्धिको विरोधमा चक्काजाम
कर वृद्धिको विराध गर्दै दाङको घोराहीमा नेपाल यातायात राष्ट्रिय महासंघले चक्का जाम गरेका छन् । घोराही सडक खण्ड अन्तर्गत तुलसीपुरमा आज बिहान ९ बजेदेखि १० बजेसम्म सडकमै सवारी साधन राखेर राष्ट्रिय महासंघले एक घन्टा चक्का जाम गरेका हुन्
। नेपाल यातायात राष्ट्रिय महासंघका जिल्ला सचिव घनश्याम बस्नेतले सरकारले रूट परमिटका नाममा कर वृद्धि गरेको र जरिवाना रकम पनि पाँच हजारसम्म पुर्याएपछि सो विरोधमा चक्काजाम गरिएको बताए ।
९. जापानले अन्तराष्ट्रिय सिमा नाकामा प्रतिबन्ध खुकुलो बनाउने
जापानले अन्तराष्ट्रिय सिमा नाकामा कोभिड सम्बन्धी लगाएको प्रतिबन्ध केही सहज गर्ने भएको छ । अन्य देशबाट आएका र पूर्णमात्रा कोभिडको खोप लगाएका यात्रुलाई पुन परीक्षण नगर्ने प्रधानमन्त्री फुमियो किशिदाले उद्धत गदै समाचार संस्थ रोयर्टसले जनाएको छ ।
यात्रुलाई सहजता प्रदान गरेसँगै दैनिक २० हजार देखि ५० हजारको सङ्ख्यामा विदेशी नागरिक आउने अपेक्षा गरिएको छ ।
१०. नेपाल र केन्याबीचको टी-ट्वान्टी सिरिज भोलिदेखि
नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्याबीचको टी-ट्वान्टी सिरिज निर्धारित तालिका अनुसार नै हुने भएको छ । भिसा समस्याको कारण नेपालका सम्पूर्ण टोली केन्या नपुग्दा पहिलो टी-ट्वान्टी निर्धारित तालिकामा हुने आशंका गरिएको थियो ।
तर, नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले टी-ट्वान्टी सिरिजको खेलहरू निर्धारित तालिका अनुसार नै जानकारी गराएका हुन् । पाँच खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेल भोलि हुने तालिका रहेको छ ।