ब्रेकिङ स्टोरी

एकै दिन सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहलमा मेयर बालेनको ‘एक्सन’

By खबरहब

August 24, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पास विपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगर मेयर बालेन्द्र शाह (बालेन) आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका हुन् ।

नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार मेयर बालेन सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित पक्षको जवाफ मागेका छन् ।

संरचना भत्काउनुअघि सम्बन्धित पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको महानगरले बुधबार सुन्धरास्थित काठमाडौँ मलको अनधिकृत रूपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काएको छ ।

बुधबार नै  मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ ।

यसैगरी महानगरले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अन्डरग्राउन्डमा आशंका गरेको हो ।

नयाँबानेश्वरमा पार्किङका लागि बनाइएको अन्डरग्राण्न्न्डमा पसल सञ्चालन भएको पाइएपछि अदालतको अन्डरग्राउन्डबारे महानगरको चासो बढेको हो ।

बुधबार नै मेयर बालेन दरबारमार्ग पनि पुगेका छन् । दरबारमार्ग क्षेत्रमा सडकमै जथाभाबी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् । मेयर बालेन बुधबार नै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् ।

नक्सा पास विपरीत तथा अनधिकृत रूपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् ।