ब्रेकिङ स्टोरी

कर्णालीमा भयावह बालविवाह, बढ्दो बहुविवाह

By खबरहब

September 24, 2022

सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर १ की धना विश्वकर्मा अहिले २२ वर्ष पुगिन् । २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिसकेका छन् । १५ वर्षको कलिलो उमेरमा बिहे गरेकी धनाले १७ वर्षको उमेरमा पहिलो सन्तान र १९ वर्षको उमेरमा दोस्रो सन्तान जन्माइन् ।

बालविवाहका कारण २ वटा सन्तान पालनपोषणमा समस्या आएपछि उनी र उनका श्रीमान् रोजगारीको सिलसिलामा भारत पुगे । रोजगारी खोज्दै भारत पुगेका दम्पती सुख–दुःख गरी साँझ–बिहानको छाक टारिरहेका थिए । दुर्भाग्य, रोजगारीकै क्रममा भारतको हिमाचल परदेशमा एक्कासी दुर्घटनामा परी श्रीमानको मृत्यु भयो । त्यसपछि सुरु भए धनाका दुःखका दिन । दुःखमाथि दुःख थपिए ।

‘सानैमा बालविवाह गरेँ । उबेला बालविवाह भनेको के हो भन्ने थाहै थिएन’, धनाले भनिन, ‘श्रीमानको मृत्युपछि ऋण काढेर नेपाल फर्किएँ । अर्कैको घरमा बास छ । अहिले बासगास नहुँदा २ छोरा कसरी पाल्ने भन्ने पिरलो छ ।’

सानै उमेरमा विवाह गरेपछि १७ वर्षमै पहिलो सन्तान जन्माएकी उनलाई त्यसपछि घर र बच्चाको जिम्मेवारीले च्याप्यो । कसैले पनि बालविवाह गर्नुहुँदैन, सानैमा विवाह गरे पढ्न पाइँदैन नभन्दा अहिले दुःखका पहाडले थिचिनुपरको वेदना धना सुनाउँछिन् ।

‘बिहे गर्ने मन थिएन’, उनले भनिन, ‘घरमा आमाबुबाको जबर्जस्तीले बिहे गर्नुप¥यो । अहिले यसरी दुःख पाइन्छ भन्ने थाहा पाएको भए बिहे गर्ने थिइँन ।’ धनाजस्तै सोही ठाउँकी पारु विकले पनि १५ वर्षको कलिलै उमेरमा भागी विवाह गरिन । ‘उबेला ६ कक्षा पढ्दै थिएँ । पढ्दापढ्दै मन चञ्चल भएर के–के नहोला भनेर भागी बिहे गरेँ, ‘उनले भनिन्, ‘घरमा आमाबुबाले भनेको मानिनँ । पोइली घर कस्तो होला भनेर भागिआएँ । अहिले समस्यै समस्या छन ।’

धनाजस्तै १७ वर्षीया उर्मिला बुढाले पनि १५ वर्षमा भागी विवाह गरिन । उर्मिलाको घरको अवस्था दयनीय थियो । खान, लगाउनकै समस्या भएपछि भागी विवाह गरेको उनले सुनाइन् ।

‘बुबाआमालाई जिम्मेवारी बढी भयो । विवाह गरे सहज होला भन्ठानेर गरेँ । सानैमा आमा बनियो,’ उर्मिला भन्छिन, ‘त्यतिखेर दुःख गरेर पढेको भए हुन्थ्यो, गल्ती गरियो ।’

धनाजस्तै जाजरकोटकी १५ वर्षीया बिनु शाही र १८ वर्षीया मनीषा सुनार पनि सानै उमेरमा विवाह बन्धनमा बाँधिएपछि अहिले पश्चातापमा छन् । उनीहरु एक प्रतिनिधि पात्र मात्र हुन । विभिन्न सघ संस्था र सरकारले बालविवाह सम्बन्धि विभिन्न कार्यक्रम गरेपनि बालविवाहमा कमि आउन सकेको छैन ।

बढ्दो तथ्यांक, घट्दो सचेतना कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ देखि हालसम्म ३१ जनाले बालविवाह गरेको तथ्यांक छ । यो प्रतिनिधि घटना मात्र हुन् । देखिएका घटना मात्र हुन् । भित्र भित्र लुकेका कैयौँ घटना छन् । सानैमा बालविवाह गर्नाले धेरैका जीवन अन्धकारतिर धकेलिएको थुप्रै उदाहरण पाइन्छन् ।

बालबालिका किशोरावस्थामा प्रवेश गरिसकेपछि यौन चाहना तीव्र वृद्धि हुने, उपयुक्त ढंगले यौनशिक्षाबारेका सकारात्मक अनि र नकारात्मक पक्षमा जानकारी नदिइँदा लहलहमै बालविवाह गर्ने गरेको बाल अधिकारकर्मी सजना सुनार बताउँछिन् ।

अर्को ग्रामीण भेगमा घरपरिवारबाटै अभिभावकले बालविवाह गर्न उक्साएका हुन्छन्’, उनले भन्छिन्, ‘कुनै काम बिगार्दा अभिभावकले नै बिहे गर्ने उमेरमा काम बिगार्ने भन्छन । अनि, बालबालिका उमेर पो भइसकेछ भनेर बिहको सुरा सोेच्न थाल्छन् र बिहे पनि गर्छन ।’

बालविवाह रोेकथामका लागि स्थानीय सरकारले जीवनोपयोगी सीप सिकाउनुपर्ने र यौनसम्बन्धी शिक्षा दिनुपर्ने सुनारको सुझाव छ । आर्थिक वर्ष २०७७/७८ को सुरुदेखि २०७९ को हालसम्म कर्णाली प्रदेशभर ३१ वटा बालबिवाहसम्बन्धी मद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ ।

२०७७/७८ मा २० वटा मुद्दा दर्ता भएका थिए जसमध्य ९ महिला, १६ जना पुरुष, ७ जना बालक, र ११ जना बालिका बालविवाहमा संलग्न रहेकोमा पक्राउ परेका थिए ।

त्यस्तै २०७८/७९ मा ११ वटा मुद्दा प्रहरीकोमा दर्ता भएका थिए । २०७७/७८ को तुलतामा प्रहरीको तथ्यांक निहाल्दा यो वर्ष केही कमि आएका देखिन्छ । २०७८/७९ मा २ महिला, ७ पुरुष, ८ बालक,र ८ बालिका पक्राउ पर्नेमा रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

पछिल्लो समय कर्णाली प्रदेशमा बहुविवाहको अवस्था भयावह बन्दै गएको छ । बहुविवाह गरेकाले सजाएबाट उम्किनु नै यस्को प्रमुख कारण रहेको कानुनविद्हरु बताउँछन् ।

बहुविवाहका घटना पनि बढ्दै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रत्येक वर्ष बहुविवाहका घटनमा वृद्धि हुँदै गएको तथ्यांकमा देख्न सकिन्छ । गत आर्थिक वर्ष २०७७/७८ मा ९६ वटा र २०७८/७९ को हालसम्म १ व्टा मुद्दा गरी जम्मा एकसय ७७ वटा मुद्धा दर्ता भएका छन् ।

२०७७/७८ मा ७९ महिला ७८ जना पुरुष र एक जना बालिका पक्राउ परेका छन् । त्यस्तै २०७८/७९ मा ६० महिला ६३ जना पुरुष पक्राउ परेको कर्णाली प्रदेश प्रहरीले जानाएको छ ।