ब्रेकिङ स्टोरी

पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता गर्न कांग्रेस असन्तुष्ट समूहकाे माग

By खबरहब

September 24, 2022

काठमाडौँ– नेपाली कांग्रेसका असन्तुष्ट समूहले पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता गर्न माग गरेको छ । उनीहरूले आफूहरूको मागको सुनुवाइ नभए आगामी निर्वाचनमा जित्न सहज नहुने चेतावनी समेत दिएका छन् ।

आफूहरूको मागका विषयमा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराइएको भन्दै उनीहरूले यस विषयमा गम्भीर हुन पनि आग्रह गरेका छन् । कार्यक्रममा कांग्रेस नेता गुरु घिमिरेले पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता नभए विद्रोह हुने चेतावनी दिए । उनले गुटलाई प्रश्रय दिए पार्टी अघि बढ्न नसक्ने बताए । 

त्यस्तै कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाहीले समानुपातिक सूची सच्याउन ध्यानाकर्षण गराए । उनले पार्टीमा योगदान गरेका कार्यकर्तालाई सडकमा अलपत्र पारेर नेताहरूले मात्र चुनाव लड्न नपाउने जिकिर गरे । त्यस्तै कांग्रेस युवा नेता मनोजमणि आचार्यले पार्टीभित्र न्यायोचित टिकट वितरण हुनुपर्ने भन्दै त्यसो हुन नसके ४० प्रतिशत चाहिने स्पष्ट पारे ।

कार्यक्रममा सहभागी नेताहरूले पार्टी सभापति गठबन्धनलाई मात्रै च्यापेर अघि बढेको र पार्टीभित्रकै नेता तथा कार्यकर्तालाई वेवास्ता गरेको आरोप लगाएका थिए ।