अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित )

By खबरहब

September 24, 2022

आज असोज ८ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु इरानमा हिजाब विरोधी तीव्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो ।

हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो। खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। महिलाहरुले लगातार ८औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।

अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ ।

यो संख्या सरकारले सार्वजनिक गरेकोभन्दा तीन गुण बढी हो। यसअघि सरकारले एक सातायता निरन्तर भएका प्रदर्शनमा १७ जनाको मृत्यु भएको जनाएको थियो। सामाजिक सञ्जालमा फैलिएको आधिकारिक फुटेजमा सरकार समर्थित जुलुसहरू तितरबितर भएको केही घण्टापछि राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ । हिंसा भड्किएपछि सरकारले विभिन्न स्थानमा इन्टरनेट सेवामा रोक लगाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवाहारको अपेक्षा गरेका छन्।

“हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौं, दक्षिण एसियामा दिगो शान्ति र स्थिरता वाहेका छौँ तथापि यो कार्य भने जम्मू र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ“ उनले भने। भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ ।

भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ। हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले महासभामा भनेका छन् । ‘सन् १९४७ यता हामीले तीनवटा युद्ध गरिसकेका छौँ र त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ । अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा पनि हाम्रै हो ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७७औँ महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शेहबाज शरीफले देशमा भरखरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गरेका छन् । “यो बाढीमा ४०० भन्दा बढी बालबालिका सहित १५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन्।

पाकिस्तानमा बाढीका कारण एक करोड ८० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ भने प्रकोपबाट झण्डै ८० लाख मानिस विस्थापित भएका छन्

कम्बोडियामा डुङ्गा डुब्दा तीन चिनियाँको मृत्यु कम्बोडियाको तटमा शनिबार डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या बढेर तीन पुगेको छ । थप नौ जनालाई भियतनामी जलक्षेत्रबाट उद्धार गरिएको छ भने आठ जना अझै बेपत्ता छन् । एकचालीस जना चिनियाँ यात्रु बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा दुर्घटनामा परेको थियो । कम्बोडियाको प्रेह सिहानोक प्रान्तीय प्रशासनका प्रवक्ता खेआङ फेरोमले एएफपीलाई उद्धार टोलीले शनिबार थप दुई शव फेला पारेको र मृतकको सङ्ख्या तीन पुगेको बताएका छन्।

आठ जना अझै बेपत्ता रहेको उनले बताए । कम्बोडियाली अधिकारीहरूले शुक्रबार २१ जनाको उद्धार गरेका थिए।

यसैबीच, किएन जियाङ प्रान्तको एन थोई स्टेशनमा ड्युटीमा रहेका भियतनामी सीमा गार्डले एएफपीलाई फु क्वोक टापु नजिकै भियतनामी जलक्षेत्रमा शुक्रबार नौ चिनियाँ नागरिकलाई माछा मार्ने जहाजले उद्धार गरेको बताएका छन्।

यसैबीच चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले घटनाबारे बेइजिङ कम्बोडियाली अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको बताएका छन्।

मध्यजापानमा टालास आँधीका कारण दुई जनाको मृत्यु जापानको शिजुओका प्रिफेक्चरमा शनिबार भारी वर्षासँगै आएको आँधी टालासका कारण दुई जनाको मृत्यु भएको छ भने हजारौँ घरपरिवार विहीन भएका छन् । धेरै ठाउँमा विद्युत् विच्छेद भएका छन् । काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको मृत्यु भएको छ भने अर्का २९ वर्षीय पुरुष आफ्नो कार जलाशयमा खसेपछि मृत अवस्थामा फेला परेको क्योडो न्यूजले उल्लेख गरेको छ ।

शिजुओका प्रिफेक्चरको हमामात्सुमा पनि छुट्टै पहिरोमा परी नौ वर्षीय बालकसहित तीन जनालाई सामान्य चोटपटक लागेको स्थानीय प्रसारक एनएचकेले जनाएको छ । जापानी आपूर्तिकर्ता चुबु इलेक्ट्रिक पावर ग्रिडका अनुसार करिब एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको र पहिरोले दुई वटा बिजुलीका खम्बा लडाएको छ ।

एजेन्सीले टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको बारेमा चेतावनी जारी गरेको छ । जापान अहिले टाइफुनको उच्च जोखिममा छ । गत साता क्युसुमा आएको नानमाडोल आँधीका कारण चार जनाको मृत्यु भएको थियो भने १५१ जना घाइते भएका थिए ।

भूकम्पको १७ दिनपछि जीवितै उद्धार चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्धार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस महिनाको सुरुमा दक्षिण पश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने र हजारौँलाई अस्थायी शिविरमा पुनर्वास गरिएको छ ।

सिचुआनको वान्डोङ जलविद्युत योजनामा कार्यरत ग्यान युलाई एक स्थानीय गाउँले जीवितै फेला परेका थिए । सरकारी स्वामित्वको चाइना नेशनल रेडियो (सीएनआर) ले उद्धारलाई चमत्कार भनेको छ । गत सेप्टेम्बर ५ मा भूकम्प जाँदा गान आफ्ना सहकर्मी लुओ योङसँग ड्युटीमा थिए । उनीहरुले जलविद्युत योजनाबाट सुरक्षित क्षेत्रमा प्रयत्न गर्दै थिए । तर, टाढाको राम्रोसँग नदेख्ने गानले त्यही बेला चस्मा हराए र पहाडी भूभागमा बरालिए ।

ती दुई व्यक्तिले टाढाका उद्धारकर्ताहरूलाई मद्दतको लागि संकेत गरे । लुगा फुकालेर रुसमा झुन्डाए । अन्तत गानलाई छोडेर लुओ जाने निर्णय गरे । लुओले गानलाई र जंगलभित्रै ओछ्यान बनाएर केही जंगली फलको व्यवस्था गरेर छोडे । उद्धारकर्ताले गानलाई ११ सेप्टेम्बरमा उद्धार गरेका थिए ।

काबुलमा मस्जिदमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदअगाडि शुक्रबारको प्रार्थनापछि भएको आक्रमणको निन्दा गर्नुभएको छ । महासचिव गुटेर्रेसले मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको प्रवक्ता स्टेफन दुजारिकले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

अफगानिस्तानको राजधानी काबुलस्थित वजीर मोहम्मद अकबर खान मस्जिदमा भएको विस्फोटमा परी सात जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मस्जिदको मुख्य प्रवेशद्वारअगाडि एउटा गाडीमा राखिएको बम विस्फोट भएको थियो । गत वर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि कैयौँ दूतावास रहेको पूर्व ‘ग्रीन जोन’भन्दा केही पर रहेको वजीर अकबर खान मस्जिदको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो । यस मस्जिदमा अहिले तालिबानका वरिष्ठ कमाण्डर र लडाकुहरू उपस्थित हुने गरेका छन् । विष्फोट हुँदा उपासकहरू शुक्रबारको नमाज पढेर धार्मिक स्थलबाट बाहिर निस्किरहेका थिए । यस आक्रमणको जिम्मेवारी शनिबार अपरान्ह्सम्म कुनै पनि समूह वा व्यक्तिले लिएको छैन ।

सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने रुसले आफ्नो पछिल्लो खर्च योजनाअन्तर्गत २०२२ देखि २०२५ सम्म राष्ट्रिय रक्षा, सुरक्षा र कानुन प्रवर्तनमा कुल ३४ ट्रिलियन रुबल खर्च गर्ने योजना बनाएको छ । रुस युक्रेनमा महँगो सैन्य अभियानमा संलग्न छ, जसको लागि उसले यस हप्ता थप ३ लाख सेना परिचालन गर्ने घोषणा गरेको छ ।

पछिल्लो तथ्यांकअनुसार, रुसले राष्ट्रिय रक्षामा सन् २०२२ देखि २०२५ मा कुल १८ दशमलव ५ ट्रिलियन रूबल खर्च गर्नेछ, जसमध्ये ४ दशमलव ७ ट्रिलियन यस वर्ष खर्च हुनेछ । मस्कोले सन् २०२२ देखि २०२४ सम्म कुल १० दशमलव ९ ट्रिलियन मध्ये यस वर्ष राष्ट्रिय रक्षामा ३ दशमलव ५ ट्रिलियन रुबल खर्च गर्ने योजना बनाएको थियो।