फाइल फाेटाे

राजनीति

‘लोकतन्त्रको रक्षा र सुशासनका लागि गठबन्धन’

By खबरहब

October 24, 2022

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले  लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारे । डा. भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै एउटा आधार र राजनीतिक लक्ष्यसहित गठबन्धन तयार भएकाले कुनै दुबिधा राख्न नहुने बताए ।

सुशासन र समृद्धिसहित अगाडि बढ्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनपछि स्थापना भएका संस्थालाई बलियो बनाउँदै भ्रष्टाचारको अन्त्य गर्ने लक्ष्य राखिएको स्पष्ट पारे ।

विकासको नयाँ मोडल तयार पार्नुपर्छ भन्ने विषयमा गठबन्धनका बीचमा साझा सहमति रहेको जानकारी दिँदै उनले आर्थिक, सामाजिक र राजनीतिक विषयमा साझा मत समेत बनाइएको बताए ।

आफूहरू सहभागी रहेको गठबन्धन अग्रगामी र जनपक्षीय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले अर्को गठबन्धनको कुनै धरातल नरहेको स्पष्ट पारे । विगतका तितामिठा कुरालाई बिर्सेर गठबन्धनको साझा मुद्दालाई लिएर अगाडि बढ्न सबैको ध्यानाकर्षण उनले गराए ।

कुनै पनि विषयमा असहमति रहेपनि त्यसलाई थाती राखेर गठबन्धनका साझा उम्मेदवार र चिन्हलाई आफ्नै ठानेर मतदान गर्न पूर्वप्रधानमन्त्री डा भट्टराईले आग्रह गरे ।