तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

सोमालियाको होटलमा आत्मघाती बम हमला, ९ जना मारिए

By खबरहब

October 24, 2022

काठमाडौँ- दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा ९ जनाको ज्यान गएको छ । आइतबार राति अज्ञात आक्रमणकारीले आत्मघाती बम हमला गरेका बताइएको छ ।

दक्षिणी सोमाली सहर किस्मायूका प्रहरी उपप्रमुख मोहम्मद नासीले एक प्रसिद्ध होटललाई लक्षित गरी आत्मघाती हमला भएको जानकारी दिएका छन् ।

उनले भनेका छन्– ‘यहाँको तावाकाल होटललाई लक्ष्य गरेर आत्मघातीहरुले बम आक्रमण गरेका छन् । रातिको समय पारेर होटलमा भएको आक्रमणको क्षतिको अनुसन्धान भइरहेको छ ।’

रातिको समयमा आएका आत्मघाती बम हमलाकारीले एक सवारी साधानमा ल्याएको विस्फोटक पदार्थ विस्फोट गराएका थिए । सो विस्फोटक पदार्थ विस्फोट भएपछि होटलमा त्रास फैलिएको र प्रहरीले शान्त रहन आग्रह गरेको थियो ।

आत्मघातीहरुले बम विस्फोट गराएपछि प्रहरी र उनीहरुका बीचमा होटलभित्रै भिडन्त पनि भएको बताइएको छ । सो आक्रमणमा संलग्न सबै आक्रमणकारी मारिएको बताइएको छ ।

प्रहरीले होटललाई घेरा हालेर अनुसन्धान गरिरहेको बताएको छ ।