राजनीति

मोरङ ३ मा रेखा थापाको इन्ट्रीले माहोल बेग्लै

By खबरहब

October 24, 2022

काठमाडौँ- आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । ढकालले १९ सय सात मतले शर्मालाई पराजित गरेका थिए । ढकालले ४२ हजार चार सय १३ र शर्माले ४० हजार पाँच सय ६ मत प्राप्त गरेका थिए । यसपटक पनि ढकाल एमालेबाट र कांग्रेसबाट शर्मा दोहोरिएका छन् । राप्रपाकी रेखा थापाको प्रवेशले चुनावी माहोल तताएको छ ।

थापाको बढ्दो सक्रियताले क्षेत्र नम्बर ३ मा बेग्लै माहोल सिर्जना गरिदिएको छ । जन्मथलो यही क्षेत्रमा भएकी उनले मतदातालाई रिझाउन गरिरहेको प्रयासले शर्मा र ढकाललाई चुनौती थपिने देखिन्छ ।

थापाले स्वास्थ्य, शिक्षा निःशुल्क, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना, तटबन्ध, विकास निर्माण, यस क्षेत्रका जनताको जीवनस्तर उकास्नुलाई चुनावी मुद्दा बनाएकी छन् । यो निर्वाचन क्षेत्रमा पार्टीको मत कम भए पनि रेखालाई व्यक्तिगत भोट आउने राप्रपाको आस छ । घरदैलोमा थापाको क्रेजले भीड लाग्ने गर्छ । यसबाट उनले आफ्नो कुराहरु खुलर राख्न पाएकी छिन् ।

शर्माले सडक, सिँचाइ, खानेपानीको सहज सुविधा र गरिब समुदायकालाई चिकित्सा शिक्षामा निःशुल्क अध्ययन, युवालाई रोजगारी र खोलाको कटान जस्ता समस्यालाई चुनावी मुद्दा बनाएका छन् । अघिल्लो चुनावमा सुकुम्बासी समस्या समाधानलाई प्रमुख चुनावी मुद्दा बनाएका ढकालले संसदमा समेत आवाज नउठाएकाले यस क्षेत्रको सुकुम्बासी समुदाय रुष्ट छन् ।

उनले भने आफ्नो पार्टीले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर सुरु गरेको कामलाई गठबन्धनको सरकारले निरन्तरता दिँदै आएकाले अब चाँडै स्थायी समाधान पाउने दाबी गरे । ढकालले अपेक्षित काम गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

अघिल्लो निर्वाचनमा एकढिक्का देखिएको कांग्रेसमा महाधिवेशन र स्थानीय तह निर्वाचनमा संस्थापन पक्ष र इतर पक्षबीचको असन्तुष्टिको तुष मेटिसकेको छैन । यद्यपि शर्मा भने आफ्ना प्रतिद्वन्द्वी एमालेका ढकाललाई दोब्बर मत ल्याएर हराउने दाबी गर्छन्। घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ढकाललाई ६० हजार मत ल्याएर जित हासिल गर्ने बताए । १४औं महाधिवेशनमा उत्पन्न अन्तद्र्वन्द्व निर्वाचनको मुखमा साम्य हुँदै शर्मा दाबी गर्छन् ।

पूर्वस्वास्थ्यमन्त्री ढकालले जनताको गुनासोलाई अत्यन्त महत्वका साथ लिएको बताउँछन् । अघिल्लो निर्वाचनपछि जनतामा नआएको भनेर ढकालको टीकाटिप्पणी हुने गरेको छ । ‘जोसुकै नागरिकले पनि आफूले जिताएर पठाएका जनप्रतिनिधिसँगै यही निर्वाचन क्षेत्रमा बसिदिए हुन्थ्यो भनेर सोच्नु, नजिकै हुन पाए हुन्थ्यो, आफ्ना कुरा सिधासिधी राख्न पाए हुन्थ्यो भन्नुलाई स्वाभाविक रूपमा लिएको छु । तर, नागरिकले के बुझ्नु भएको छ भने राजकीय रूपमा काम गरेको व्यक्ति अलिक व्यस्त हुन्छ । कानून निर्माणको काममा लाग्नु पर्छ भन्ने पनि उहाँहरूलाई थाहा छ,’ उनले भने, ‘हाम्रो मान्छे हो, घुलमिल भएन, पहुँच पुगेन भन्ने नागरिकका गुनासाहरू आएका थिए त्यो सम्बोधन हुँदै गएका छन् । मबाट भएका केही कमीकमजोरी छन् भने त्यसलाई सुधार गर्नुपर्छ, गर्छु । नागरिकले मेरो बारेमा पनि राम्रो बुझ्नु भएको छ र मैले पनि नागरिकका समस्यालाई राम्रोसँग बुझेको छु ।’

अभिनेत्री रेखा थापा एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताउँछिन् । उनले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पूरा गर्ने दाबी गर्छिन् । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको सिन्को पनि नभाँचेकाले गलत परम्परा तोड्न आफू चुनावी मैदानमा खडा भएको उनले बताइन् । आफूले जितेमा निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने उनले बताइन् ।

यस क्षेत्रमा नौ दल र ६ स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा जिल्लाका ६ वटै क्षेत्रमध्ये सबभन्दा बढी एक लाख ४९ हजार आठ सय ३३ मतदाता छन् । क्षेत्र नम्बर ३ मा सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका २६ वटा वडा पर्छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले क्षेत्र नम्बर ३ अन्तर्गतका चारवटै स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ । बेलबारी नगरपालिकाको उपप्रमुखबाहेक एमालेले तीन पालिकाको प्रमुख(उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ । वडाध्यक्षले २६ वटा वडामा पाएको मतका आधारमा एमाले थोरै मतले अघि छ । एमालेले वडागत रुपमा ३७ हजार ४१० मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले वडागत रुपमा ३७ हजार ७६ मत प्राप्त गरेको छ । एमालेले १४ वटा वडाध्यक्ष जित्दा कांग्रेसले ११ वडामा जित हासिल गरेको छ । एउटा वडा स्वतन्त्रले जितेको छ । क्षेत्र नम्बर ३ मा माओवादीले सात हजार तीन सय ७३, राप्रपाले दुई हजार १२१ मत ल्याउँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले एक हजार ८५५ मत ल्याएका थिए ।

वडागत मतका आधारमा एमाले अघि देखिए पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका कारण गठबन्धनको मत बढी छ । वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सत्तारूढ गठबन्धन एमाले गठबन्धनभन्दा आठ हजार चार सय १४ मतले अगाडि देखिन्छ ।