फाइल तस्वीर

अन्तर्राष्ट्रिय

ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री

By खबरहब

October 24, 2022

काठमाडौँ- भारतीय मूलका कन्जरभेटिभ सांसद ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनका प्रतिस्पर्धी पेनी मोर्डन्ट प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेसँगै सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ प्रधानमन्त्रीले चाँडै सांसद्हरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कन्जरभेटिभ पार्टीको १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्रेडीले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

अन्तिम समयमा पेनी मोर्डन्टले प्रधानमन्त्री बन्ने प्रतिस्पर्धाबाट आफू पछि हटेको घोषणा गरेकी हुन् । यससँगै प्रधानमन्त्री बन्ने दौडमा सुनाक एक मात्रै प्रत्याशी बाँकी रहेका छन् ।

यसअघि बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले पनि प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेको घोषणा गरेका थिए । जोनसनको घोषणासँगै कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि एवम् नयाँ प्रधानमन्त्री बन्नका लागि मोर्डन्ट र सुनाकमात्र बाँकी रहेका थिए ।

गत बिहीबार प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएसँगै सत्तारुढ कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चयन गर्न लागेको हो ।