काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतपरिणाम आउँदै गर्दा मतदाता र आम सर्वसाधारणमा धेरै प्रश्न जन्मिएका छन् । जारी मतपरिणाममा २५ सिटसहित कांग्रेस पहिलो बनेको छ भने १५ सिट जितेको एमाले दोस्रो बनेको छ ।
मतपरिणामको अवस्थाले पनि देखाउँछ, कांग्रेस सबैभन्दा ठूलो संगठन र शक्ति भएको पार्टी हो । देशभर मजबुत भएको संगठनसहित कांग्रेसले यसपटक माओवादी र नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेर चुनावमा होमिएको थियो ।
तर चुनावको मतपरिणाम सत्ता गठबन्धनजस्तो देखिएन । चुनावअघि देशैभर सातै प्रदेशमा चुनावी सभा गरेको सत्ता गठबन्धनले एक अर्कालाई पूर्ण रुपमा विश्वास गरेको पनि देखिएन । खासगरि यतिबेला उठेको सबैभन्दा ठूलो प्रश्न भनेको ‘मत किन ट्रान्सफर’ भएन भन्ने हो ।
कांग्रेसबाहेकका उम्मेदवारले जित्न नसक्दा सत्ता गठबन्धनभित्र यो प्रश्न गम्भीरसँग उठेको छ । काठमाडौँमा ओनसरी घर्ती, ललितपुरमा पम्फा भुसाल, लमजुङमा देव गुरुङ हार्दा माओवादीका नेताहरुले यतिबेला कांग्रेसलाई यसरी प्रश्न गरिरहेका छन् ।
वास्तविक रुपले भन्ने हो भने यतिबेला कांग्रेसको मत ट्रान्सफर नभएको हो कि मतदाताको मन फेरिएको हो ? दुवै प्रश्नको उत्तर भेटाउन गाह्रो छ । माओवादी कांग्रेसप्रति इमान्दार भएर उसका उम्मेद्वारलाई जिताउन सहयोगी भएपनि कांग्रेसले भने इमान्दारिता नभएको तर्क सतहमा आएको छ ।
यसका पछाडि कांग्रेसले माओवादी उम्मेद्वारलाई दिनुपर्ने भोट स्वतन्त्र पार्टीका उम्मेद्वारलाई गएको र घण्टीबाट रवि लामिछानेको उदय भएको बुझाई छ । आंशिक रुपमा यसभित्र केही सत्यता छ । तर वास्तविक रुपमा यतिबेला चुनाव हुँदै गर्दा उठेका धेरै प्रश्नले नयाँ बहस जन्माएको छ ।
वर्षौवर्ष राजनीति गरिरहेका तर एजेन्डा नभएका, केवल जनतालाई भ्रममा राखिरहेका र कुनै विकास निर्माणका काममा छिटो छरितो नभएका नेतालाई भन्दा युवा र फरक धारका व्यक्तिलाई चुनावमा मतदाताले जिताउनुमा सत्ता गठबन्धन जिम्मेवार छ ।
भागबण्डाका आधारमा सत्तामा टिकिरहने दलकै नेताहरुको पुरानो सोच र शैलीका कारण पनि यतिबेला मतदाताले नयाँ विकल्प रोजेको देखिन्छ । यसले पक्कै ढिलोचाँडो केही न केही परिवर्तन ल्याउने निश्चित छ ।
यतिबेला दलहरुले एक अर्कालाई दोषारोपण गर्नुको साटो समयको माग र परिवर्तनको एजेन्डालाई आत्मसात गर्नुको विकल्प छैन । देशमा रवि लामिछानेको स्वतन्त्र पार्टीमार्फत कम्तीमा ९ जना नयाँ अनुहार मात्रै संसदमा आउने होइनन्, मधेसबाट सीके राउत, थारु समुदायबाट रञ्जिता श्रेष्ठ, राप्रपाबाट ज्ञानेन्द्र शाहीजस्ता नयाँ जोशिला आवाज भएका व्यक्ति पनि संसदमै आउँदैछन् ।
यसले केही न केही फरक र नयाँ परिवर्तनको आशा मतदातामा हुनेछ । जुम्लाबाट ज्ञानेन्द्र शाहीको जितलाई परिवर्तनको आवाज संसदमा गर्जन गर्ने एक युवाका रुपमा लिइएको छ । सडकमा चर्को नारा लगाउने उनी अब संसदमा गर्जिने कुरामा दुईमत छैन ।
जुम्लामा सत्ता गठबन्धनका उम्मेदवार नै पराजित भएका छन् । खासगरी माओवादीबाट उठेका धेरै उम्मेदवारको पराजयले एकसाथ दुई प्रश्न जन्माएको छ । एउटा सधैँ अर्काको काँधमा अनि साथमा बसेर चुनाव जित्ने रणनीति सफल हुँदैन ।
अर्को, आफ्नै संगठन बलियो बनाउन नसक्ने नेता र पार्टीले चुनाव जित्ने आश किन गर्नु ? यस्तै प्रश्न यतिबेला माओवादी नेतृत्वमाथि उठेको छ।यसपटक युवा उम्मेदवारको इन्ट्रि, स्वतन्त्र पार्टीको लहर र बुढा नेताको बिदाइले आगामी चुनावमा यसले थप बलियो उपस्थिति बनाउनेमा कुनै शंका छैन।