राजनीति

कञ्चनपुर-१ (२) मा कांग्रेसका विष्ट निर्वाचित

By खबरहब

November 24, 2022

दोधारा चाँदनी– कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले नौ सय १७ मतान्तरले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले आठ हजार पाँच सय २० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका भट्टले सात हजार छ सय तीन मत पाएका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले पाँच हजार सात सय १३ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार पाँच सय २ मत प्राप्त गरेका छन् । 

जम्मा ४९ हजार चार सय ५८ मतदाता रहेको यो क्षेत्रमा ३१ हजार छ सय ४२ मत खसेको थियो । जसमा एक हजार पाँच सय मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।