स्टोरी

‘आन्तरिक हवाई उडानमा मास्क लगाए पुग्छ’

By रबिन्द्रबहादुर बस्नेत

January 25, 2022

कोभिड १९ को महामारी पुनः बढ्न थालेपछि देशको आर्थिक क्रियाकलापमा थप वरोध हुने चिन्ता र चासो बढेको छ। दोस्रो लहर सकिएपछि लय समातिसकेको वस्तु तथा सेवा, उत्पादन, आयात तथा निर्यातजन्य व्यवसाय कोभिड संक्रमितको संख्यामा भएको बृद्धिसँगै पुनः समस्या देखिएको छ। यसले फेरि विश्व समुदाय संकटतिर धकेलिने हो कि भन्ने चिन्ता बढेको छ।

फेरि लकडाउन वा बन्दाबन्दी हुने त होइन ? हाम्रो जस्तो देशले थप लकडाउन धान्न सक्ला ? यो बहस तीब्र बनेको छ। यतिबेला सार्वजनिक जीवन पद्दतिमा कडाई गरिएको छ।

विद्यालय, कलेजसहित धेरै मानिस भेला हुने ठाउँ बन्द गरिएको छ। यातायातमा जोरबिजोर नम्बर लागू गरिएको छ। आन्तरिक हवाई यातायातका लागि त झन् थप कडा गरिएको छ।

एन्टिजेन परीक्षण, फेस सिल र खोप कार्ड अनिवार्य गरिएको छ। हाम्रो जस्तो भौगोलिक विकटता, बाढी पहिरोका कारण सडक यातायातमा अवरोध भइरहने देशमा हवाई यातायातलाई झन्झटिलो र महंगो बनाउनै हुँदैन। जति महंगो परीक्षण हुन्छ त्यो यात्रुको टिकटमा जोडिन्छ।

विगतका प्रतिबन्धात्मक तरिकाले हामीलाई फाइदा या वेफाइदा के ग¥यो भन्ने समीक्षा गर्नुपर्छ। विगतको हाम्रो अभ्यासले हाम्रो अर्थतन्त्र कमजोर भएको अर्थविदले विश्लेषण गरिरहेका छन्। फेरि हामीले त्यही बाटो अपनाउँदा हामी थप कमजोर बन्दैनौं भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ।

यतिबेला पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जालमा पोष्ट भएका सामग्री पढ्दा, हेर्दा लकडाउन, सेमिलकडाउनले कोरोना महामारी नरोकिने प्रशस्त उदाहरण दिएका छन्।

खोप लगाउन भौतिक दूरीको पालना नभएको तथा घण्टौ लाइन बसेका नागरिकका फोटा देखिएका छन्। अनि लकडाउन, सेमी लकडाउन लगाउनुुको के अर्थ रहन्छ ? कोभिडको संक्रमण विश्वव्यापी रुपमै बढिरहेको कुरा जति सत्य हो हाम्रा नीति निर्माताले ख्याल गर्नुपर्ने विषय पनि यो हो कि लकडाउन वा प्रतिबन्धले मात्र कोभिड नियन्त्रण सम्भव छैन।

स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका तथा अस्पताललगायत उपचारका लागि प्रशस्त पूर्वाधार विकास गरेका विकसित देशले पनि त कोभिड नियन्त्रण गर्न सकेका छैनन्। बरु उनीहरुले अर्थतन्त्रलाई चलायमान बनाइराख्न लकडाउन, सेमी लकडाउन अथवा यात्रा विशेषतः आन्तरिक हवाई यात्राका लागि एन्टिजेन परीक्षण, फेस सिल वा खोप कार्डलाई अनिवार्य गरेका छैनन्।

काम विशेषले डिसेम्बरको अन्तिमतिर यो पंक्तिकार अमेरिका पुगेको थियो। र, दुुई हप्ताभन्दा बढी समय त्यहाँ बितायो। उनीहरुले लकडाउन र अरु प्रतिबन्धात्मक तरिकाभन्दा मास्क, सेनिटाइजरको प्रयोग र साबुनपानीले हात धुन प्राथमिकता दिएका छन्। आन्तरिक हवाई उडानमा मास्कलाई मात्र अनिवार्य गरिएको छ।

अर्थतन्त्रमा गत्यावरोध नआओस् भन्नका लागि आर्थिक गतिविधि हुनुपर्दछ। आर्थिक गतिविधि हुनका लागि मानिसको आवतजावतमा कुनै अवरोध नहुनु नै सबैभन्दा पहिलो शर्त हो।

कोभिडसँग दीर्घकालीन लडाइँ लड्नु पर्ने निष्कर्षमा पुगेका विकसित देशले राम्ररी विचार गरेरै अर्थतन्त्रलाई चलायमान बनाउन प्रतिबन्धात्मक तरिकाको साटो सचेतना फैलाउँदै प्रतिरोधात्मक तरिका अपनाएका छन्। र, अर्थतन्त्र चलायमान राखेका छन्।

कोरोनालाई नियन्त्रण गर्ने नाममा अर्थतन्त्रमा नकारात्मक असर पर्ने गरी लकडाउनको सट्टा कोभिडसँग पनि लड्ने र अर्थतन्त्र पनि चलायमान हुने गरी अन्य कार्वाहीलाई प्रोत्साहन गर्नुपर्छ।

संसारका सबैभन्दा विकसित र शक्तिशाली देशले पनि नियन्त्रण गर्न नसकेको कोरोनासँग बन्दाबन्दी वा निषेधात्मकभन्दा सचेतना र प्रतिरोधात्मक तरिकाले लड्नु बुद्धिमानी हुन्छ। जतिसुकै ठूला र सुविधासम्पन्न अस्पताल बनाए पनि त्यसले सडक वा हवाई दुर्घटनालाई रोक्न सकिंदैन।

चालक सचेत भए दुर्घटना टर्न वा रोकिन सकेजस्तै कोभिडबाट बच्न पनि सचेतता आवश्यक पर्छ। संसारका कुनै पनि देशले नियन्त्रण गर्न नसकेको कोरोनालाई नियन्त्रण गर्ने नाममा अर्थतन्त्रमा नकारात्मक असर पर्ने गरी लकडाउनको सट्टा कोभिडसँग पनि लड्ने र अर्थतन्त्र पनि चलायमान हुने गरी अन्य कार्वाहीलाई प्रोत्साहन गर्नुपर्छ।

अमेरिकी अनुभव

अमेरिकामा मैले गरेको सानो अनुभव पनि सेयर गरिहालौं। त्यहाँ पछिल्लो समयमा लाखौं मानिस संक्रमित छन्। पीसीआर गर्न उत्तिकै असजिलो छ। बल्लतल्ल पीसीआर गर्यो, रिपोर्ट आउन सामान्यतः चार दिन लाग्छ। पीसीआरको रिपोर्ट तीन घण्टामा चाहिए पाँच सय डलर तिर्नुपर्छ। कोरोनाले अस्तव्यस्त जस्तै बनाएको छ। तर, पनि त्यहाँ लकडाउन गरिएको छैन। कारण एउटै हो, अर्थतन्त्रलाई चलायमान बनाइराख्न।

हामीकहाँ पनि अरु धेरै समस्या होलान। तर, यस हिसाबले हामीकहाँ धेरै व्यवस्थित रहेको छ। सामान्यतः चार घण्टामा पीसीआर परीक्षणको रिपोर्ट सामान्य शुल्कमा जो कसैले पाउँछ। र, त्यहाँ जस्तो अस्तव्यस्त छैन। तर, अर्थतन्त्रलाई चलायमान बनाउनेतिर हामीकहाँ अमेरिका, युरोप तथा अन्य देशको भन्दा उल्टो स्थिति छ। उनीहरु जीवनका लागि अर्थतन्त्रलाई पनि टेवा दिने ढंगले काम गरिरहेका छन्। हामीकहाँ भने अर्थतन्त्रलाई थप जटिलतातिर धकेल्ने प्रयास भएको छ।

दुई हप्ताभन्दा बढी समय अमेरिकामा बिताएँ । उनीहरुले लकडाउन र अरु प्रतिबन्धात्मक तरिकाभन्दा मास्क, सेनिटाइजरको प्रयोग र साबुन पानीले हात धुन प्राथमिकता दिएका छन्। आन्तरिक हवाई उडानमा मास्कलाई मात्र अनिवार्य गरिएको छ।

जेसुकै गरे पनि अबको केही वर्ष कोभिडसँग सँगै रहनुको विकल्प हामीसँग छैन। यस्तो अवस्था थाहा हुँदाहुँदै फेरि पनि प्रतिबन्धात्मक तरिका किन अपनाउने ?

संक्रमितको आँकडाको तुलना गर्ने हो भने अमेरिका र युरोपीय देशको तुलनामा नेपालमा धेरै प्रतिशत कम रहेको छ। यसको अर्थ कोभिड केही पनि होइन भन्ने होइन।

नेपाल र खासगरी दक्षिण एसियाली देशका सामान्य नागरिकको चुलो र भात भान्सामा नियमित प्रयोग हुने औषधिजन्य मरमसला, ताजा खानपिन र जीवनपद्दति पनि कोभिडविरुद्ध एउटा भरपर्दो औषधि सावित भएको विभिन्न अध्ययनले देखाएका छन्।

त्यस्ता प्राकृतिक तत्वको प्रयोगलाई अझै प्रोत्साहन गरे कोभिडविरुद्ध लड्न मद्दत नै पुग्छ। तर, बन्दाबन्दीलगायत प्रतिबन्धात्मक विधिले जानअनजानमा विगतमा भएका कमजोरीले जस्तै अन्ततः देशको मेरुदण्ड मानिने अर्थतन्त्र तहसनहस मात्रै बनाउँछ। अर्थतन्त्रमात्र होइन कोरोनाभन्दा धेरै भयानक रोगबाट मर्नेको संख्या बढ्दै जान्छ।

सामाजिक, मनोवैज्ञानिक रुपमा पार्ने दीर्घकालीन नकारात्मक प्रभावको त लेखाजोखा नै अहिले गर्न सकिदैंन। यसैले कोरोनालाई नियन्त्रण गर्ने नाममा प्रतिबन्धात्मक तरिका अपनाउने गल्ती गर्ने छुट अब हामीलाई छैन।

त्यसै पनि यतिबेला सबै क्षेत्रमा अत्यासलाग्दो र भयावह परिस्थिति सिर्जना गर्न खोजिएको छ। हाम्रो हवाई यातायातमा मात्रै पनि निजी क्षेत्रले ठूलो लगानी गरेको छ।

लकडाउनलगायत प्रतिबन्धात्मक प्रकृतिका क्रियाकलापले कोभिड त जित्न सकिंदैन । आधुनिकीकरण र औद्योकिकीकरणतिर घिस्रिरहेको हाम्रो अर्थतन्त्र झनै थिलथिलो हुनेछ।

अहिले हवाई यात्रुका लागि व्यवस्था गरिएको एन्टिजेन, पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट, फेस सिल, खोप कार्ड आदि झन्झटिलो प्रावधानले यति ठूलो लगानीलाई जोखिमतिर धकेलेको छ। अमेरिकामा जस्तै मास्कलाई मात्र अनिवार्य गरे पुग्छ।

सार्वजनिक क्षेत्रमा प्रवेश गर्दा भरपर्दो मास्कको प्रयोग, साबुनपानीले हात धुने बानीलाई प्रोत्साहन गर्दै हाम्रो परम्परागत घरेलु जीवनपद्दति मात्र अँगाल्न सके कोभिडसँग दीर्घकालसम्म सुरक्षित लडाइँ लड्न सकिन्छ।

लकडाउनलगायत प्रतिबन्धात्मक प्रकृतिका क्रियाकलापले कोभिडसँग त जित्न सकिंदैन नै, आधुनिकीकरण र औद्योकिकीकरणतिर घिस्रिरहेको हाम्रो अर्थतन्त्र झनै थिलथिलो हुनेछ।